काठमाडौँ । युद्धविराम र बन्धक रिहा गर्ने इजरायलको नयाँ प्रस्ताव हमासले अस्वीकार गरेको छ। दोहामा भएको वार्तामा इजरायलले राखेको प्रस्ताव हमासले अस्वीकार गरेको हो।
इजरायलले गाजाभित्र र इजिप्टसँगको सिमानामा सैनिक राख्न पाउनुपर्ने प्रस्ताव राखेको थियो भने हमासले पूर्णयुद्धविरामका साथै कुनै पनि अवरोधबिना कैदी फिर्ताको माग गरेको थियो।
इजरायली रक्षामन्त्री योभ ग्यालान्टले शुक्रबार आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग छुट्टै कुरा गर्र्दै अक्टोबर ७ देखि गाजामा बन्धक बनाइएकाहरुको रिहाइका लागि वार्ता महत्त्वपूर्ण हुनेमा जोड दिएका थिए।
गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामवादी आन्दोलनका क्रममा भएको आक्रमणमा हमास लडाकूहरूले २५१ जनालाई कब्जामा लिएका थिए । यसमध्ये १११ जना अझै गाजामा बन्दी बनाइएका छन् भने ३९ जना मारिएका सेनाले बताएको छ ।
इजरायली सेनाको आक्रमणमा गाजामा अहिलेसम्म कम्तीमा ४० हजारभन्दा बढी मानिस मारिएको जनाइएको छ।




