
काठमाडौं । संयुक्त राष्ट्रसंघ-युएनको टोली आरक्षणविरुद्धको हिंसा र ठूलो संख्यामा प्रदर्शनकारीको मृत्युको अनुसन्धान गर्न बंगलादेश जाने भएको छ ।
राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले हत्याको छानबिन गर्न आफ्नो टाली छिट्टै बंगलादेश जाने विषयमा बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसलाई फोनमार्फत् अवगत गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
युनुसले पनि उक्त विषयमा राष्ट्रसंघका मानवअधिकार प्रमुखसँग कुराकानी भएको आफ्नो सामाजिक सञ्जालमार्फत जनाउँदै हत्याको छानबिन गर्न छिट्टै राष्ट्रसंघको नेतृत्वमा अनुसन्धान सुरु गरिने बताउनुभएको छ ।
निवर्तमान प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारततर्फ लागेपछि बंगलादेशमा अराजकता मच्चिएको थियो । सरकार विरोधी प्रदर्शनमा तीन सयभन्दा बढीको ज्यान गएको थियो ।
यस्तै अन्तर्राष्ट्रिय क्रिमिनल ट्रिब्यूनल–आईसीटीमा निवर्तमान प्रधानमन्त्री शेख हसिनालगायत अन्य ८ जनाविरुद्ध नरसंहार र मानवताविरुद्ध अपराध गरेको भन्दै मुद्दा दर्ता भएको बंगलादेशी सञ्चारमाध्यममा उल्लेख छ । यसको सुनुवाई अन्तर्राष्ट्रिय फौजदारी अदालतले गर्ने बताइएको छ ।
यसैबीच आज बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको हत्यामा शोक दिवस मनाइरहेका अवामी लिगका कार्यकताहरु र बंगलादेश नेसनलिस्ट पार्टी–बीएनपी, जमात–ए–इलामका कार्यकर्ताबीच झडप भएको छ ।
बीएनपी, जमात–ए–इलामका कार्यकर्ताहरुले उक्त क्षेत्रमा रहेको सम्पूर्ण पसलहरुलाई बन्द गरेको छ भने सञ्चारकर्मीहरुलाई झडपको कभरेज गर्नबाट रोक लगाइएको रोयटर्सले उल्लेख गरेको छ ।