काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममा हस्ताक्षर गरेका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले हस्ताक्षर गरेका हुन् ।
मंगलबार उपकुलपति प्रा.डा केशरजंग बराल लगायतका त्रिविका पदाधिकारीहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीको हस्ताक्षर गराएका हुन् । त्रिविका रजिष्ट्रार प्रा.डा केदार रिजालका अनुसार प्रधानमन्त्रीले बजेटसँगै नीति तथा कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।
यसअघि त्रिविका अधिकारीहरूले ओलीले नीति तथा कार्यक्रम रोकेको आरोप लगाएका थिए । साउन १५ गते बसेको त्रिविको सिनेटमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएपनि प्रधानमन्त्री ओली कार्यव्यस्थताका कारण छलफलमा सहभागि नभइ बाहिर निस्किएका थिए ।
शिक्षामन्त्री विद्या भट्टराईलाई अध्यक्षताको जिम्मेवारी दिएर ओली बाहिर निस्किएपछि शिक्षामन्त्रीको अध्यक्षतामा भएको छलफलपछि नीति तथा कार्यक्रम समेत पारित भएको थियो । त्रिवीका रजिष्टार रिजालले नीति कार्यक्रम ओली रोकेको भनेर बाहिर हल्ला गएको उल्लेख गर्दै दुईवटा एजेण्डामा त्रिविको ६२ औँ ग्रेस लिष्ट पारित गर्ने र नीति तथा कार्यक्रम बजेट पारित गर्ने रहेको स्पष्ट पारे ।
सिनेटबाट स्नातक, स्नातकोत्तर तह लगायतका विभिन्न तहका ७३ हजार ९ सय ९५ विद्यार्थीको ग्रेस लिष्ट पास भएको थियो । सिनेटमा प्रधानमन्त्री ओलीले उपकुलपति प्राडा बराललाई नीति तथा कार्यक्रम पेस गर्न खोज्दा रोकेका थिए । तर उक्त विषयमा ओलीको आलोचना भएपछि उनले उक्त विषयमा हस्ताक्षर गरेका हुन् ।




