देश

कार्यदलको बैठक निष्कर्षविहिन, भोलि बिहान फेरी बस्ने

काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।

बैठक आज सिंहदरवारस्थित कानून मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसके पनि सकारात्मक छलफल गरेको सदस्य महेश बर्तौलाले जानकारी दिएका हुन् । कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको उनले बताए ।

आजको बैठकमा केहि ठोस विषयमा छलफल भएको र भोलि बिहान बस्ने बैठकमा सहमति हुने बर्तौलाले दाबि गरे ।

त्यस्तै रास्वपाका कार्यदल सदस्य शिशिर खनालले आजको बैठकमा कांग्रेस लचक भएको आफुले बुझेको बताउदै थप छलफल गरेर बैठक बस्ने कुरा भएको बताए ।

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । यस अघि आइतबार भएको कार्यदलको बैठकमा सहमतिमा नपुगे पनि अर्को बैठकमा सत्ता पक्षले परिमार्जित प्रस्ताव पेश गर्ने सहमति भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *