काठमाडौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गरेको छ । आईसीसी अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षा मन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी मागेको छ ।
आईसीसी अभियोजकले भने, ’मेरो कार्यालयले संकलन गरेको र समीक्षा गरेको प्रमाणको आधारमा, इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु र रक्षामन्त्री योभ गालान्ट गाजामा भएका युद्ध अपराधका लागि जिम्मेवार छन् भन्ने विश्वास गर्ने कारण छ ।’
अब न्यायाधीशहरुको एक इजलासले खानको निवेदनमा सुनुवाइ गर्नेछ । नेतन्याहुविरुद्ध विनाश, युद्धको विधिका रुपमा भोकमरी गराएको र जानीजानी गैरसैनिकलाई निसाना बनाएको आरोप लगाइएको छ ।
यसअघि नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी हुँदै गर्दा अमेरिकी सांसदहरुले आईसीसीलाई पत्र पठाउँदै प्रतिबन्धको धम्की दिएका थिए । इजरायल र अमेरिका आईसीसीको सदस्य छैनन्। तर, गाजा, पूर्वी जेरुसलेम र वेस्ट ब्यांक सो अदालतको क्षेत्राधिकारमा पर्छ ।




