विश्व

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना, अष्ट्रिया। संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी वा अन्य घटनाहरू दर्ता भएको भन्दै सोमबार आणविक र अन्य रेडियोधर्मी सामग्रीको तस्करीविरुद्ध ‘सतर्कता’ अपनाउन आह्वान गरेको छ ।

गत वर्ष ३१ वटा देशले १६८ वटा चोरी र तस्करीको घटना दर्ता गरेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए) ले जनाएको छ । यसमध्ये छ वटा सम्भवतः तस्करी वा दुर्भावनापूर्ण प्रयोगसँग सम्बन्धित रहेको पुष्टि भएको आइएइएले बताएको हो ।

सन् १९९३ देखि आइएइएले चार हजार २४३ वटा घटनाहरू रेकर्ड गरेको छ जसमध्ये ३५० घटना तस्करी वा दुर्भावनापूर्ण प्रयोगसँग जोडिएको पाइएको छ ।

“घटनाहरूको पुनरावृत्तिले रेडियोधर्मी सामग्रीको नियन्त्रण, सुरक्षा र उचित डिस्पोज गर्न नियामक निरीक्षणको सतर्कता र निरन्तर सुधारको आवश्यकतालाई पुष्टि गर्दछ,” आइएइएका आणविक सुरक्षा महाशाखाकी निर्देशक एलेना बुग्लोभाले भने ।

आइएइएले युरेनियम, प्लुटोनियम र थोरियमजस्ता आणविक सामग्री समावेश भएका घटनाहरूमा गिरावट आएको उल्लेख गरेको छ ।

बुग्लोभाले विशेष गरी ओसारपसारका क्रममा बढी असुरक्षित रहने बताउँदै ओसारपसारसम्बन्धी सुरक्षा उपायलाई सुदृढ पार्न महत्वपूर्ण रहेकोमा जोड दिए ।

अस्ट्रियाको राजधानीमा शुक्रबारसम्म चल्ने आणविक सुरक्षासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै भियनास्थित आइएइए कार्यालयले यो तथ्याङ्क सार्वजनिक गरेको हो । यसअघि सन् २०२० मा भियनामा यो सम्मेलन आयोजना गरिएको थियो ।

हाल कूल १४५ राज्यले आणविक वा अन्य रेडियोधर्मी सामग्री हराएको, चोरी भएको, अनुचित रूपमा डिस्पोज गरिएको वा अन्यथा बेवास्ता गरिएको घटनाहरू आइएइएमा जानकारी गराएका छन् । रेडियोधर्मी पदार्थहरू विशेषत विश्वभरका अस्पताल, विश्वविद्यालय र उद्योगमा प्रयोग गरिन्छ ।

यस विषयमा चरमपन्थीहरूले सामग्रीहरू प्राप्त गरी तिनीहरूलाई ‘डर्टी बम’ का रूपमा प्रयोग गर्नसक्ने ठुलो चिन्ता रहेको छ । ‘डर्टी बम’ले विखण्डित वा ‘फ्यूजन एटम बम’को तुलनामा कम क्षति पु¥याउने भएपनि यसले सहरी क्षेत्रमा ठूलो आतङ्क निम्त्याउन सक्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *