देश

बुद्धचित्त माला प्रकरण : आरोपित नै बोट धनीबाट करोडौं ठगिएको खुलासा


​​​​​​​काभ्रेपलाञ्चोक । काभ्रेको रोशीमा काटिएको बुद्घचित्त माला प्रकरणमा समातिएका आरोपित नै उल्टै माला धनीबाट ठगिएको खुलासा भएको छ ।

बुद्धचित्तको माला अज्ञात समूहले काटे पनि हाल समातिएका व्यक्तिलाई मालाधनीको त्यही पुरानो ठगी काण्ड छल्न ‘पोले’को हुनसक्ने धेरैको बुझाई छ । हुन् त यस विषयमा काभ्रे प्रहरीले अनुसन्धान गर्दैछ ।केही समयमै यस प्रकरणको पटाक्षेप हुने नै छ । रुख काटिएको समाचार र आरोपितहरू समातिएका विषयमा सनसनीपूर्ण समाचार आइरहँदा मालाको बोट धनीबाटै ठगिएका मानबहादुर तामाङ‘सिजन’काे समाचार भने बाहरि आउन सकिरहेको छैन । त्यसैले हामीले उक्त प्रकरणको पटाक्षेप गर्ने प्रयास गरेका छौ ।

हो बुद्धचित्तको रुख काटेको अभियोगमा प्रहरीले काठमाडौँबाट समातेका मानबहादुर तामाङ‘सिजन’ बुद्धचित्तको बोटका धनी ठकुरानी तामाङका आफ्नै छोरा शेरबहादुर तामाङ बाटै ठुलो रकम ठगीमा परेका व्यक्ति हुन् । मानबहादुर र भक्तपुरका व्यापारी चौथी नारायण महर्जन मालाको बोट धनी शेरबहादुर र समिप त्रिपाठीबाट अघिल्लो वर्ष दुई करोड १३ लाख भन्दा बढी ठगीमामा परेका थिए ।

आफूहरू ठगीमा परेको भन्दै सिजनले दर्ता गरेको मुद्दाको फैसला हुन नपाइरहेका बेला अज्ञात व्यक्तिहरूले मालाको रुख नै काटिदिएसँगै पीडित मानबहादुर आरोपितका नाउँमा हाल प्रहरीको नियन्त्रणमा छन् । उक्त ठगी प्रकरणमा बुद्धचित्त मालाका बोट धनी शेरबहादुर तामाङ केही समय थुनामा परेको र समिप त्रिपाठी लामो समयसम्म फरार भई अदालतमा ७५/७५ लाख धरौटी तिरेर छुटेका व्यक्ति हुन् । ठगी प्रकरणकै मुद्दामा समिक त्रिपाठी र शेरबहादुरको सम्पूर्ण बैङ्क खाता र चल अचल सम्पत्ति हालसम्म पनि अदालतमा रोक्का भइरहेको तथ्य हामीलाई प्राप्त भएको छ ।

माला खरिद गर्ने सम्झौता भए पनि मालाका लागि चाहिने लगानी रोक्का हुनु र माला खरिद गर्ने व्यक्तिहरू समिप त्रिपाठी र सत्यमान लामाको पछिल्लो आर्थिक अवस्थासमेत राम्रो नहुनुले माला प्रकरण थप शङ्कास्पद बनिरहेको छ । त्यसो त आरोपित मानबहादुरसँग मुद्दा फिर्ता लिनु पैसा मिलाइदिन्छौ भन्ने विषयमा छलफल गर्नका लागि उनीहरू बीच पटक पटक विभिन्न सम्पर्क व्यक्तिबाटसमेत कुराकानी हुने गरेको सिजन निकटका व्यक्तिहरू बताउँछन् ।

‘हाम्रो पैसा मिलाइदिने विषयमा कुराकानी हुन्थ्यो, अर्को कुरा हामी कानुनी उपचारमा पनि थियौँ, हामीले रुख काट्नु पर्ने कुनै कारण छैन, सिजन निर्दोष छ’उनीहरूले भने ।

‘हो केही दुष्मनी थियो तर त्यसको आधारमा अरू कसैले गरेको अपराधमा मुछेर माला किन्नका लागि लगानी गरी डुबेर कानुनी उपचार खोजिरहेका सिजनलाई नै उल्टै अपराधी करार गर्न खोज्नु के न्यायसङ्गत हो त ? उनीहरूको प्रश्न छ । ‘प्रहरी अनुसन्धान अघि बढिरहेको छ, कसैले पोलेकै आधारमा केही दिन अनुसन्धानका लागि नियन्त्रणमा लिएको व्यक्तिलाई अपराधी करार गरेर लेख्नु झन् ठुलो अपराध हो ।’

उनीहरूले भने । ‘जो व्यक्ति आफै ठगिएर मुद्दा लडिरहेको छ, न्याय मागिरहेको छ, त्यही व्यक्ति रुख काट्न किन जान्छ ? आफ्नो करोडौँ रकम रुख काटेर हैन, कानुनी उपचारबाट लिन सकिन्छ भन्ने विश्वास सिजनसँग थियाे, उसले प्रमाणसहित अदालतमा मुद्दा हालेको थियो, यस्तो व्यक्तिलाई पोल्नु भनेको काँक्रो आफू खाने र बियाँ अरूलाई टाँसिदिने जालसाजी मात्रै हो’ उनीहरूले भने । न्यायका लागि अदालतको दैलो चाहारिरहेका सिजन अदालतबाटै आफूले न्याय पाउने आशामा ढुक्क थिए,रुख काटिएको प्रकरणमा मुछ्न खोजिए पनि उनी निर्दोष छन्’उनीहरूले भने । प्रहरी निकट स्रोतले पनि उनको संलग्नता खासै यो घटनामा नदेखिएको बतायो ।

विप्लव माओवादीका केही नेताहरूसँग सम्पर्क रहेको आशङ्कामा मात्र उनलाई नियन्त्रणमा लिएको स्रोतले बतायो । माला काटिएको भनिएको दिन मानबहादुर मध्येबानेश्वर स्थित डेरामा थिए । मालाको रुख काटिएको हल्लाको केही समयमै उनलाई प्रहरीले काठमाडौँ पक्राउ गरेको थियो । रोशी र काठमाडौँको दुरी धेरै लामो छ । घटनामा संलग्न हुन्थे भने मान्छे कसरी कोठामा आइपुग्छ ? विपीराजमार्ग, अरनिको हाइवे भक्तपुर र काठमाडौँका ठाउँ ठाउँका सि सी क्यामरा छन् चेक जाँच गर्दा पत्ता लागि हाल्छ ? सिजनका आफन्तले दाबी गरे ।

मालाधनीको पुरानो रिसीबीकै कारण उनलाई पोलिएको र उनले माला धनीसहित समिक त्रिपाठीलाई हालेको मुद्दा छल्न खोजेको उनीहरूको दाबी छ ।

समिक त्रिपाठी र सत्यमान लामा, पक्राउ परेका प्रभात लामा यस अघि माला लुट्ने विप्लव माओवादीका सागर मैनालीसँगसमेत सम्पर्कमा रहेका व्यक्ति हुन् । विप्लव माओवादीको केही प्रभाव रहेको उक्त क्षेत्रमा माला किन्ने व्यापारीले उनीहरूको चित्त नबुझाई माला कुर्नै सक्दैनथे । काभ्रेको दुर्गम ठाउँ भएकाले व्यापारीहरूले विप्लवका कार्यकर्ताहरू चित्त बुझाउनु पर्ने बाध्यता नै थियो । आफूहरूले माला किनेको र आफूहरूलाई सिजनले मुद्दा हालेको भन्दै उनीहरूले मैनालीलाई मुद्दा मिलाइदिन गुहार माग्ने गरेको स्रोतको दाबी छ ।

कहिले मुद्दा मिलाइदिने नाउँमा त कहिले माला नै कब्जा गरिदिनेभन्दै विप्लवका कार्यकर्ताहरूले समीप लगायतको टोलीसँग उठबस र बार्गेनिङ गर्ने गरेको स्रोतले बतायो । अन्ततः हातहतियारसहित आएको टोलीले २०८० चैत्र २९ गते मालाको बोट नै काटिदियो । मालाको बोट काटिएको निहुँमा प्रहरीले बोट धनीबाटै करोडौँ ठगिएका सिजनलाई पक्राउ गर्‍यो । ठगी गर्नेहरू, माला लुट्नेहरू खुल्लमखुल्ला हिँडिरहेका छन् । यस क्षेत्रमा आपराधिक गतिविधि गर्नेहरू फरार छन् । नियतिले ठगेका मानबहादुर (सिजन) यत्तिखेर न्यायको आशामा प्रहरी हिरासतमा छन्, उनीहरूले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *