देश

बिहेको तयारी हुँदै गर्दा मृत भेटिइन् बक्सिङ खेलाडी नीता

भक्तपुर । भक्तपुरमा एक महिला बक्सिङ खेलाडी घरमै मृत फेला परेकी छन् । मंगलबार साँझ ८ बजे आफ्नै तीनतले घरको छतमा रहेको जस्ताको डण्डीमा पासो लागेको अवस्थामा नीता गोसाई मृत फेला परेकी हुन् ।

परिवारका सदस्यले झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । २७ वर्षीया गोसाई सशस्त्र प्रहरी बल (एपीएफ) क्लबबाट घरेलु प्रतियोगिताहरु खेल्दै आएकी थिइन् । गोसाईको आउँदो फागुन २ गते विवाह हुँदै थियो । भक्तपुर प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएको जनाएको छ । मृतकका परिवारले एक युवकविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन् ।

ती युवकले दिएको यातनाका कारण घटना भएको मृतकका आफन्तको आरोप छ । प्रहरीले ती युवकलाई पक्राउ गरेको छ । विगतको सम्बन्धका विषयमा युवकले नीतालाई मानसिक यातना दिने गरेको जाहेरीमा दावी गरिएको छ । नीता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन् । नवौँ राष्ट्रिय खेलकुदमा उनी ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन् । उनको करियरको सबैभन्दा ठूलो उपलब्धी यही नै थियो । उनले अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलेकी थिइनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *