देश

माओवादी स्थायी कमिटीको बैठक बस्दै, आज विधान मस्यौदा पेस हुने

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (शनिबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान मस्यौदा र पार्टी रुपान्तरण अभियानको समीक्षा हुने जनाइएको छ ।

माओवादी केन्द्रको विधान मस्यौदा समितिले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष शुक्रबार विधानको मस्यौदा पेस गरेको छ । माओवादीले यही पुस ५ गते उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो । समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिव गणेश साह र सुरेन्द्र कार्की छन् ।

शनिबार बस्ने स्थायी समिति बैठकमा मस्यौदा पेस हुने, पार्टी स्थायी समितिमा छलफल हुने र स्थायी समितिको निर्णयानुसार तल्ला कमिटीमा छलफलका लागि लैजाने महासचिव गुरुङले जानकारी दिएका छन् । माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने तयारी गरेको छ । विधान सम्मेलन अघि स्थायी समिति र केन्द्रीय समिति बैठक बस्ने माओवादीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *