काठमाडौं । संघीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बुधबार विहान बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुनेछन् ।
बैठक बुधबार विहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने समिचिका सचिव अधि राज राईले जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री दाहालले नेपाल र भारतबीच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराउने कार्यसूची छ ।
गत शुक्रबार परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमणका क्रममा भएका सहमति र सम्झौताका विषयलाई लिएर अहिले चौतर्फी प्रश्न उठिरहेको छ भने सरकारको आलोचनासमेत भइरहेको छ ।




