देश

रतनबहादुर ऐर विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य नियुक्त

काठमाडौं । इञ्जिनियर रतनबहादुर ऐर नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतको मन्त्रीस्तरीय निर्णयबाट उनलाई सोमबार नियुक्ति गरिएको हो ।

विद्युत प्राधिकरणमा २९ वर्ष आठ महिना काम गरेर अवकाश लिएका वरिष्ठ इञ्जिनयर ऐरले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवको जिम्मेवारी सम्हालेका थिए । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा रहेर नीति निर्माण र कार्यान्वयनमा नै महत्वपूर्ण भूमिका खेलिसकेका अनुभवी व्यक्तित्व ऐरको नियुक्तिले विद्युत प्राधिकरणमा अब विवेकपूर्ण निर्णय हुने र प्राधिकरणले थालेका आयोजनाहरु समयमा नै पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ऐरले विद्युत प्राधिकरणका जलविद्युत उत्पादन, प्रशारण र वितरण तिनै क्षेत्रमा काम गरेका थिए । उनले सुदूरपश्चिमको गौरवको रुपमा हेरिने चमेलिया जलविद्युत आयोजना सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । सो आयोजनाको सर्वेक्षण, डिजाइन, टेण्डर कागजात तयारी, पहुँच सडकको निर्माण सुपरीवेक्षण, आरसीसी र स्टील पुलहरुको निर्माण र सुपरीवेक्षण तथा बाँध, पावर हाउस र प्रशारण लाइनको निर्माणमा उनी सम्पूर्ण रुपले सक्रिय रहेका थिए ।

ऐरले खिम्ती भक्तपुर बालाजु १३२ केभी प्रशारण लाइन निर्माणमा प्रशारण लाइन मार्गको विस्तृत सर्वेक्षण, टेण्डर कागजात तयारी, सरोकारवाला निकायसंग समन्वय गरेर आयोजना सम्पन्न गर्न महत्वपूर्ण भूमिका पनि निर्वाह गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *