देश

बिरामीको मृत्यु भएपछि अस्पतालमा तनाव

दमक । झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ । अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव भएको बताइएको छ ।

घुँडामुनि सुन्निएको समस्या लिएर बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बाँसकोटालाई सोमबार बिहान मनमोहन अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारमा भएको लापरवाहीले उनको मृत्यु भएको भन्दै आफन्तहरु क्षतिपूर्ति र स्वास्थ्यकर्मीलाई कारबाहीसहित प्रदर्शनमा उत्रेका छन् ।

उपचारका क्रममा सोमबार विहान ल्याइएकी महिलाको साँझ मृत्यु भएको अस्पताल व्यवस्थापनले जनाएको छ । मृतकका छोराछोरीको पालनपोषण, शिक्षादिक्षाका लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने आफुहरुको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए ।

इमरजेन्सीमा भर्ना भएको बिरामीको दिनभर राख्दा समेत कुनै पनि रिपोर्ट नदिएको र उपचार नगरेको आरोप आफन्तले लगाएका छन् ।

घटनाका विषयमा छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ । मृतकको शव अस्पतालको आइसियूमा रहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *