मुख्य समाचार

राष्ट्रिय सभा सदस्यका लागि सिटौला, सुजाता, मिनेन्द्रदेखि महेश आचार्यसम्मको नाम सिफारिस

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस कोसी प्रदेश समितिले ७० जनाको नाम सिफारिस गरेको छ ।

प्रदेश सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा आएका सिफारिसलाई आधार बनाई केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो।

सिफारिस हुनेमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा.मीनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस भएको छ। महिला संघकी पूर्वसभापति डिला संग्रौला, नेविसंघका पूर्वसभापति गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्‍गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि नाम सिफारिस भएको छ।

सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने प्रयोजनका लागि सांसद बनाइन लागेको हो । सिटौला गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । रिजालको नाम पनि अहिले अध्यक्षमा चर्चामा आएको छ । उनलाई संस्थापन इतर समूहले चर्चामा ल्याएको हो । रिजाललाई गत वर्ष टिकट दिइएको थिएन ।

यस्तै, सुजाता गत निर्वाचनमा पराजित भएकी थिइन् । महेश आचार्यले भने टिकट नै पाएका थिएनन् । संघीय सांसद भइसकेकी छन् । गुरुराज घिमिरे गत वर्ष प्रदेश सभा सदस्यमा पराजित भएका हुन् ।

राष्ट्रियसभामा रिक्त हुने पदको पूर्ति गर्ने उद्देश्यले निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। आगामी पुस २३ गते उम्मेदवार मनोनयनको मिति तोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *