मुख्य समाचार

सिटौला, श्रेष्ठपछि रिजाल पनि राष्ट्रिय सभा अध्यक्षको चर्चामा

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार हुनेहरूको नाम टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बिहीबारदेखि बस्दैछ ।

कांग्रेसका सातै प्रदेश समितिले पठाएको तीन–तीनजनाको नामबाट कांग्रेसले उम्मेदवारको नाम टुंगो लगाउने छ । अहिले धमाधम प्रदेश कार्यसमितिले केन्द्रलाई नाम सिफारिस गरिरहेका छन् । कोशी प्रदेशले कृष्णप्रसाद सिटौलाको नाम सर्वसम्मत रूपमा नाम सिफारिस गरिसकेको छ ।

कांग्रेसबाट राष्ट्रिय सभामा जान नेता सिटौला र गोपालमान श्रेष्ठसहितका शीर्ष नेताहरूको चर्चा छ । सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने गरी अगाडि सार्ने कांग्रेस संस्थापन पक्षको तयारी छ । प्रतिनिधिसभाको समानुपातिक सूचीमा रहेर पनि छनोटमा नपरेपछि सूचीबाट नाम हटाइएका श्रेष्ठ पनि राष्ट्रिय सभा प्रवेश गर्ने र अध्यक्षका आकांक्षी छन् ।

सभापति देउवाले अध्यक्षमा सिटौलाको विकल्प नभेटेपछि इतर समूहले नयाँलाई अवसर दिनुपर्ने सर्त अगाडि सारेको छ । इतर समूहले डा.मीनेन्द्र रिजाललाई राष्ट्रिय सभा अध्यक्षका रूपमा अगाडि सारेको छ । रिजाल आन्तरिक लबिङमा रहेको नेताहरू बताउँछन् । अनुभवी, विषयमा दक्षता, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका कारण रिजाल निकै उपयुक्त उम्मेदवार हुन सक्ने इतर समूहका नेताहरूको दाबी छ ।

पार्टी सहमहामन्त्री फरमुल्लाह मन्सुर, अनुशासन समिति संयोजक आनन्द ढुंगाना, बलबहादुर केसी, अब्दुल सतार, अरुण सुवेदीलगायत पनि राष्ट्रिय सभामा आकांक्षीका रूपमा छन् । प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, डा. गोविन्दराज पोखरेल, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, किरण कोइरालालगायतको नाम पनि कांग्रेसवृत्तमा चर्चा छ ।

कांग्रेसले अहिले नै उम्मेदवारको टुंगो लगाउँदा विवाद आउने देखेपछि केन्द्रीय समिति बैठकपछि गठबन्धनमा सिटको टुंगो लगाउने र अन्तिम समयमा उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ ।

कांग्रेसमा राष्ट्रिय सभामा लैजान विभिन्न पेसा र क्षेत्रका व्यक्तिलाई पनि उम्मेदवार बनाउनुपर्ने आवाज उठेको छ । त्यसैले आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेकाले पनि मौका पाउन सक्ने सम्भावना त्यत्तिकै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *