देश

बालिकालाई बन्धक बनाएर वेश्यावृत्तिमा लगाउने युवक पक्राउ, ४ जनाको उद्धार

काठमाडौं।ग्राहकको रोजाइ अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

टोखा नगरपालिका– ९ नयाँबसपार्क बस्ने नुवाकोटको तादी गाउँपालिका– ६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बुधबार प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार तामाङले नयाँबसपार्कमा रहेका बिभिन्न होटल तथा गेस्ट हाउसहरूमा बालिकाहरूलाई ललाइ फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेका थिए ।

सोही सूचनाको आधारमा ब्युरोबाट खटिएको प्रहरीले वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाइएका ४ जना बालिकाहरूलाई उद्धार गरी सुमनलाई पक्राउ गरेको उनले बताए ।

आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई ललाइ फकाई होटल र गेस्ट हाउसहरूमा वेटर तथा सरसफाइको काममा लगाई दिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र पीडित बालिकाहरूलाई ५ महिनादेखि होटल र गेस्ट हाउसहरूबाट बाहिर समेत निस्कन नदिई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको पनि एसएसपी श्रेष्ठले बताए ।

सुनमविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको पनि एसएसपी श्रेष्ठले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *