राजनीति

पाटी सञ्चालनमा व्यक्ति हावी भए: अर्जुननरसिंह केसी

नुवाकोट। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संबिधान अनुसार कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण एकभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस नुवाकोटको ‘प्रथम जिल्ला सम्मेलनलाई आज विदुरमा सम्बोधन गर्दै सभापति देउवाले समावेशी र समानुपातिक निर्वाचन प्रणालीलाई सुनिश्चित गराई ‘राम्रो संबिधान बनाएको कारण राजनीतिक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएको बताउनुभयो । अहिलेको संबिधानमा आदिवासी जनजाति, महिला तथा दलित लगायत पछिपरेका समुदायको प्रतिनिधित्व अनिवार्य गराई संबिधान राम्रो बनायौँ । तर, कुनै एकदलले बहुमत ल्याउन सक्ने अवस्था नभएपछि बाध्य भएर अर्को दलसंग मिलेर सरकार सञ्चालनमा सहभागी भयौँ ।

काँग्रेस सभापति देउवाले आफ्नो पाटी भित्र घात अन्तरघात कायम रहेको भन्दै असन्तुष्टी जनाउनुभयो । काँग्रेसभित्र खुट्टा तानातानको प्रवृत्ति विगतदेखि अहिलेसम्म पनि नै कायम रहेको भन्दै यही कारण पाटीलाई बलियो हुन नदिएको आरोप लगाउनुभयो । सभापति देउवाले काँग्रेस भित्रको गुट उपगुट हटाई पाटी एकढिक्का भए अर्को चुनावमा बहुमत आउने दाबी गर्नुभयो ।

कार्यक्रममा काँग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले पाटी अहिले पनि बलियो अवस्थामा रहेको भन्दै आन्तरिक घात गर्नेबाट पाटीलाई कमजोर बनाएको आरोप लगाउनुभयो । काँग्रेस अहिले पनि मजबुद रहेको तर, आफ्नै छाँयासंग डराएर बस्नु पर्ने अबस्थाको कारण पाटी कमजोर भएको आरोप लगाउनुभयो । पाटीलाई सुधार गरेर अघि बढाउनको लागी पाटी र पाटीबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिबीच सहकार्य हुन आवश्यक रहेको उहाँको सुझाब छ ।

सम्मेलनमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पाटी सञ्चालनमा व्यक्ति हावी भएको आरोप लगाउनुभयो ।
पाटी प्रवक्ता डा.प्रकाशशरण महत र केन्द्रीय सदस्य बहादुरसिंह लामाले अहिलेको सरकारले प्रभावकारी र जनअपेक्षा अनुसार काम गर्दै आइरहेको दाबी गर्नुभयो । उहाँहरुले सरकारको राम्रो कामको प्रचार गर्नुको सट्टा अनावश्यक टिप्पणी गरेर जनतालाई भ्रमित बनाउन दल भित्रैबाट असहयोग भइरहेको गुनासो गर्नुभयो ।

कार्यक्रममा काँग्रेस बागमती प्रदेस सभापति इन्द्र बानियाँ, नुवाकोटका पूर्वसभापतिहरु जगदिश्वरनरसिंह केसी, धुव्रप्रसाद अधिकारी लगायतले निर्वाचनमा गठबन्धन, सरकारमा सहभागी लगायतका विषयमा पाटीको तल्लोतहबाट जनमत लिएर मात्रै निर्णय गर्नुपर्ने सुझाब दिनुभयो ।

आज सोमबारदेखि सुरु भएको काँग्रेस नुवाकोटको सम्मेलन बन्द सत्रमा पेश भएका जिल्लाको राजनीतिक तथा सांगठानिक विषयमा छलफल गर्दै सम्पन्न हुने जिल्ला सभापति रमेशकुमार महतले जानकारी दिनुभयो । राज्य पुर्नसंरचना पश्चात काँग्रेसले यो पहिलो पटक जिल्ला सम्मेलन गर्न लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *