विश्व

सोमालियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी

सोमालिया । सोमालियामा भएको भारी वर्षा र आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११० पुगेको र २४ लाखभन्दा बढी प्रभावित भएका संयुक्त राष्ट्रसंघीय मानवीय निकायले आइतबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सोमालियामा एल निनोका कारण आएको विनाशकारी बाढीका कारण कम्तीमा ३६ जिल्लाका १० लाखभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ ।

सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो अपडेटमा ओसिएचएले भनेको छ, “हिर्शाबेल र जुबाल्याण्ड राज्यका १० स्थानमा बाढीमा फसेका दशौं हजार मानिसलाई उद्धार गर्न कम्तीमा ३७ वटा डुङ्गा परिचालन गरिएको छ ।”

गत अक्टोबरमा आएको बाढीका कारण देशभरका पूर्वाधार, व्यापार, शिक्षा र खाद्य आपूर्ति सेवा समेत प्रभावित भएको छ ।

चार दशकयताकै सबैभन्दा खराब (लामो) खडेरीपछि आएको बाढीले पशुधन र बालीनाली नष्ट भएकोे छ भने खडेरीले देशलाई अनिकालको सङ्घारमा पुर्‍याएको छ ।

ओसीएचएका अनुसार, हिरशाबेल र गाल्मुडुग राज्यहरूमा हैजाको शंकास्पद घटनाहरू रिपोर्ट गरिएका कारण पानीबाट सर्ने रोगहरूको सम्भावित फैलावटको बारेमा चिन्ता बढ्दै गएको छ ।

मानवीय सहायता, अधिकारी र स्थानीय समुदायले कम्तीमा आठ लाख २० हजार मानिसलाई सहयोग गरेको छ, जुन प्रभावितमध्ये करिब ३० प्रतिशत हो ।

मध्य शाबेल, लोअर जुबा र बानादिरको तटीय क्षेत्रमा डिसेम्बर ५ सम्म हल्का वर्षाको सम्भावना रहेको र बाँकी देश तथा इथियोपियाली उच्च भूभागमा सुख्खा मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि शाबेल नदीबेसिनमा पानीको सतह उच्च रहेको र धेरै क्षेत्रमा बाढी आएको बताइएको छ ।

हिर्शाबेल राज्यको जौहर शहरको पूर्वमा २० वटा गाउँ डुबानमा परेका छन् । एक महिनादेखि जलमग्न भएको महादे सहरमा केही घर भत्किएका ओसीएचएले जनाएको छ ।

मानवीय संस्थाहरूका अनुसार सोमालियामा हालैका वर्षहरूमा आएको चरम मौसमी घटनाहरूको शृङ्खलामा बाढी पछिल्लो हो, जहाँ समुदायहरू विश्वव्यापी जलवायु सङ्कटको तीव्र अवस्थामा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *