काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग आगामी मंसिर ३ गतेदेखि काठमाडौंमा सुरु हुदैछ । यो प्रतियोगिताको लागि आज अक्सन भइरहेको छ। जारी अक्सनमा सिमान्त थापा, दिनेश हेन्जन, लाकेन लिम्बु, शनिस श्रेष्ठ सर्वाधिक तीन लाख ५० हजार रुपैयाँमा बिक्री भएका छन् ।
चार क्लबले बोली लगाएका शनिस श्रेष्ठलाई तीन लाख ५० हजार मूल्यमा ललितपुर सिटीले अनुबन्ध गरेको छ । यस्तै दिनेश हेन्जन तीन लाख ५० हजारमा ललितपुर सिटीमै अनुबन्ध भएका छन् । त्य्सैगैर पाँच क्लबले बोली लगाएका सिमान्त थापालाई तीन लाख ५० हजारमा गोला प्रथाबाट वीरगन्ज युनाइटेडले किन्न सफल भएको छ । त्यसैगरी डिफेन्डर सुदीप गुरुङलाई पनि गोलाप्रथाबाट वीरगन्ज युनाइटेडले किनेको छ ।
त्यसैगरी नौ टिमले नै बोलि लगाएका लकेन लिम्बुलाई गोला प्रथाबाट तीन लाख ५० हजारमा झापाले किनेको छ । त्यस्तै मणिकुमार लामालाई बुटबल लुम्बिनी एफसीले आधार मूल्य एक लाख ५० हजारमा किनेको छ भने डिफेन्डर आशिष गुरुङलाई ३ लाख ५० हजारमा इलामले किनेको छ ।
त्यसैगरी यू-१९ गोलकिपर जियारथ सेखलाई काठमाडौँले एक लाख ३० हजारमा किनेको छ, उनलाई पाँच टिमले बोलि लगाएका थिए ।
त्यस्तै डिफेन्डर कमल श्रेष्ठलाई धनगढीले एक लाख ५० हजारमा किनेको छ भने सुरज ज्यू ठकुरीलाई पोखराले एक लाख ५० हजारमा किनेको छ ।
अक्सनको पहिलो चरणमा आर्मीका नवयुग श्रेष्ठ भने अनसोल्ड भएका छन् ।
एनएसएलमा काठमाडौं रेजर्स, धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी, बुटवल लुम्बिनी फुटबल क्लब, बिरगंज युनाइेड एफसी, स्पोर्टिङ्ग मेची डे र झापा एफसी गरी ९ टिम रहेका छन् ।
अक्सनमा कुल १ सय ७८ खेलाडी छन् जसमा ए ग्रेडमा २७ खेलाडी छन् । ए ग्रेडका खेलाडीको अक्सन न्यूनतम मूल्य १ लाख ५० हजार छ । ए ग्रेडका खेलाडीको उच्चतम मूल्य ३ लाख ५० हजार रहेको छ । उच्चतम मूल्यमा टोलीबीच प्रतिस्पर्धा भएमा गोला प्रथाबाट निर्धारण हुनेछ ।
समूह बी का खेलाडीको न्यूनतम मूल्य १ लाख र उच्चतम १ लाख ५० हजार छ । सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ८० हजार र उच्चतम मूल्य १ लाख ३० हजार रहेको छ ।
एनएसएलमा एक टोलीले बढीमा २५ लाख र कम्तिमा १८ लाख खर्च गर्न पाउनेछन् । जसमा ए ग्रेडका दुई खेलाडी मात्र किन्न पाउने व्यवस्था गरिएको छ ।




