काठमाडौं।अजरबैजानको नागोर्नो काराबाखमा रहेको इन्धन डिपो विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । सो घटनामा सयौं घाइते भएको स्थानीय आर्मेनियाली अधिकारीहरूले बताएका छन् ।
उनीहरुका अनुसार झन्डै ३०० मानिसलाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये दर्जनौं अझै पनि गम्भीर अवस्थामा छन् । सोमबार साँझ बिस्फोट के कारणले भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।
मानव अधिकारकर्मी ओम्बड्सम्यान गेघम स्टेपान्यानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इन्धन गोदाममा विस्फोट हुँदा घाइते हुनेको सङ्ख्या २०० नाघेको छ । धेरैको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । नागोर्नो–काराबाखको चिकित्सा क्षमता पर्याप्त छैन ।’
मंगलबार एक विज्ञप्तिमा स्थानीय अधिकारीले घटनास्थलमा १३ अपरिचित शव भेटिएको र थप सात जनाको मृत्यु अस्पतालमा भएको बताएका छन् ।




