काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ । उनको बिहीबार राति वीर अस्पतालमा निधन भएको भएको हो । उनी लामो समयदेखि वीर अस्पतालमा क्यान्सर रोगको उपचार गराइरहेका थिए ।
२०५६ को आमनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय सामान्य प्रशासनमन्त्रीसमेत बनेका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरूमध्ये एक हुन् । रामराजाप्रसाद सिंह नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार र सिंहदरबारअगाडि बम विस्फोट गराएको थियो । मायालु त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए ।
भट्ट २०५८ मा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा उनी पटकपटक जेलसमेत परेका थिए । उनी २०५६ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका तर्फबाट बर्दिया ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।




