देश

सुन तस्करी प्रकरण: अनुसन्धान प्रतिवेदन मंगलबार बुझाउने सिआइबीको तयारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । पक्राउ परेकाहरुलाई थुनामा राख्ने हदम्यादसम्बन्धी प्रावधानका कारण सिआइबीले मंगलबारसम्म अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको हो ।

आरोपीहरु पक्राउ गरी अनुसन्धान सुरु भएको मंगलबार ५६ दिन पुग्नेछ । ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्नेछ । सरकारी वकिलले पनि अध्ययनका लागि केही दिन मागेकाले मंगलबारसम्म सिआइबीले पहिलो चरणको अनुसन्धान टुंग्याउन लागेको हो ।

३० भदौभित्र मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरी अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएको अवस्थामा गत साउन २ गते सिनामंगलबाट ठूलो मात्रामा अवैध सुन बरामद भएको थियो ।

यस प्रकरणमा हालसम्म ३० जना पक्राउ परेका छन् । तर, प्रहरीले अनुसन्धान थालेको ५५ दिन हुँदासम्म सुन ल्याउने मुख्य गिरोहसम्म भने प्रहरी पुग्न सकेको छैन । सुन प्रकरणमा पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक, भन्सार कर्मचारी, भन्सार एजेन्ट, सुन व्यापारी तथा बिचौलियाहरू छन् ।

तस्करीको केन्द्रमा चिनियाँहरू नै भए पनि उनीहरूलाई नेपालमा क–कसले सघाएका थिए भन्नेमा प्रहरी अनुसन्धान अघि बढ्न सकेको छैन । पक्राउ परेकाहरूले केही नबताउँदा अनुसन्धानमा ढिलाइ भएको सिआइबी अधिकारीहरूको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *