काठमाडौँ । जर्मनीका मुख्य प्रशिक्षक हान्सी फ्लिकलाई बर्खास्त गरिएको छ । जापानसँगको मैत्रीपूर्ण फुटबल खेलमा लज्जास्पद हार बेहोरेपछि जर्मनीले मुख्य प्रशिक्षक फ्लिकलाई बर्खास्त गरेको हो ।
शनिबार राति सम्पन्न घरेलु मैदानमा जापानसँगको खेलमा जर्मनी ४-१ गोल अन्तरले पराजित भएको थियो ।
जर्मनीले घरेलु मैदानमा खेलेका पछिल्ला ६ खेलमा केवल एक खेल जितेको थियो, जसमा चार हार सामेल छन् । जापानसँगको हारपछि जर्मनी फुटबल फेडेरेसनले तत्कालदेखि लागु हुने गरि फ्लिकलाई बर्खास्त गरेको छ ।
अब रुडी भोल्लेरले जर्मनीको अन्तरिम प्रशिक्षकको भूमिका निभाउने छन् ।
२०२१ को जुलाईमा जर्मनीको प्रशिक्षक बनेका फ्लिकको नेतृत्वमा जर्मनीले २५ खेलमा केवल १२ जित मात्र हासिल गरेको छ भने ७ बराबरी र ६ खेलमा हार बेहोरेको छ ।
२०२२ को विश्वकपमा समुह चरणबाट बाहिरिदा समेत बर्खास्तमा नपरेका फ्लिक अहिले भने अब घरेलु मैदानमा हुने युरोकप आउन करिब ९ महिना बाँकी हुदा बर्खास्तमा परेका छन् ।




