काठमाडौं । आइतबार भारतले एसिया कपको आफ्नो पहिलो सुपर ४ खेलमा पाकिस्तानसँग खेल्नेछ । तर, वर्षाले फेरि खराब खेल खेल्ने सम्भावना बढी छ ।
सुपर ४ स्टेजको आज हुने तेस्रो खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियम कोलम्बोमा दिउँसो ३ः१५ बजेबाट सुरु हुँदैछ । भारतले आफ्नो पहिलो सुपर ४ खेल पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानका तीब्र गतिका बलरहरुको आक्रमणविरुद्ध भारतका शीर्ष ब्याट्सम्यान बीचको लडाइ वर्षाले बिथोलेन भने हेर्न लायक हुनेछ ।
कोलम्बोको आर प्रेमदासा स्टेडियममा सुपर फोरमा दुई कट्टर प्रतिद्वन्द्वी भिड्दा बिश्वभरका सबै क्रिकेट प्रेमीहरुको नजर हुनेछ। शनिबार रातिदेखि सोमबारसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने श्रीलंकाको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसकारण यसपटक पनि भारत पाकिस्तानबीचको खेल पूर्ण प्रतिस्पर्धा हुने कुरामा अनिश्चिता छ । यसअघि भएको प्रि–क्वार्टरको खेल वर्षाले प्रभावित बनेको थियो ।
भारतले पहिले ब्याटिङ गरेर ४८ ओभरमा अलआउट हुँदै २६७ रन बनाएको थियो । तर निरन्तरको वर्षाले सो खेल स्थगित हुँदा दुवैले एक एक प्वाइन्ट प्राप्त गरेका थिए । तर यसपटक भने रिजर्भ डे राखिएको छ । आजको खेल वर्षाले स्थगित भएमा सोमबार खेलाइने छ ।




