समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश

काठमाडौं । सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो ।

सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ । तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन ।

पछिल्लो पटक गत साउन ३२ गते उक्त मुद्दामा सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएर टुंगिएको थियो ।

पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्ममिति प्रमाणीकरण गर्न पुनः आदेश दिएको हो ।

न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा नराखी गौशाला-२६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएको हो ।

हेर्दाहेर्दैमा नपरेपछि मुद्दा फेरि अर्को न्यायाधीशको इजलासमा पेशी चढ्ने भएको छ ।

लामिछानेविरुद्ध गत वर्षको भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्त काठमाडौंमा जाहेरी दिएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *