काठमाडौ । नेपाली महिला क्रिकेट टिमले टी-२० विश्वकपको एशिया छनौट खेल अन्तर्गत समुह चरणको अन्तिम खेलमा आज युएईको सामना गर्दै छ ।
मलेसियामा हुने यो खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुने छ ।
समुह ए बाट नेपाल र युएई सेमिफाइनलमा पुगिसकेपनि यो खेलबाट समुह विजेताको टुंगो लाग्ने छ । अहिले दुवैले यसअघि खेलेका चारै खेल जितेपनि नेट रनरेटको आधारमा युएई शिर्ष स्थानमा रहेको छ ।
नेपालले यसअघि कतार, मलेसिया, बहराइन र भुटानलाई पराजित गरिसकेको थियो ।
सेप्टेम्बर ९ सम्म संचालन हुने यस एशिया छनौटमा १२ देशले भाग लिएका छन् । जसमा नेपाल समुह ए मा रहेको छ ।
समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् । त्यस्तै समुह बी बाट हङकङ सेमिफाइनलमा पुगिसकेको छ भने सेमिफाइनलमा पुग्न थाइल्याण्ड र कुवेत प्रतिष्पर्धामा रहेका छन् ।
दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् ।
सेमिफाइनलका खेल सेप्टेम्बर ८ मा हुने छन् भने प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर ९ मा हुने छ ।




