काठमाडौ । मलेसियामा जारी चार देशको महिला टी- २० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज आयोजक मलेसियाको सामना गर्दै छ ।
मलेसियाको वायुमास ओभल मैदानमा यो खेल नेपाली समय अनुसार विहान ११: ४५ बजेदेखि शुरु हुने छ ।
नेपालले अहिलेसम्म लगातार दुई खेलमा जित हासिल गरेर अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।
नेपालले आफ्नो पहिलो खेलमा हङकङको महिला टिमलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराएको थियो ।
त्यसैगरी मलेसियाले भने आफ्नो पहिलो खेलमा कुवेतलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङसँग १० विकेटले पराजित भएको थियो ।
आज नेपालले मलेसियाको सामना गर्नु अघि आज नै अर्को खेलमा हङकङ र कुवेतबीच खेल हुदै छ ।
कुवेतले दुवै खेलमा हार बेहोरेकोले फाइनलको दौडबाट बाहिर रहेको छ । नेपाल अहिले २ खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने हङकङ र मलेसिया २-२ अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्ने छन् भने दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने छन् ।




