राजनीति

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कांग्रेसद्वारा ‘पोलिसी ह्याकाथोन’ घोषणा

ललितपुर ।नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर ‘पोलिसी ह्याकाथोन’ आयोजनाको घोषणा गरेको छ ।

शनिबार पार्टी मुख्यालय सानेपा ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले ‘गिग इकोनोमी’ र ‘क्लाईमेट एक्सन’ विषयमा ‘ह्याकाथोन’ आयोजनाको घोषणा गरेको हो ।

देश र विदेशमा रहेका जो कोही उत्साही नेपाली युवाले आफ्नो रचनात्मक विचार प्रस्तुत गर्न उक्त कार्यक्रममा सहभागी बन्न सक्ने पनि कांग्रेसको भनाइ छ ।

युवा र नीति निर्माण प्रक्रिया बीचको खाडल हटाउनको लागि ‘पोलिसी ह्याकाथोन’ कार्यक्रम ल्याएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी गराए ।

यो नीतिगत अन्तरले राष्ट्रलाई युवा जनसंख्याको प्रतिभा, दृष्टिकोण र ऊर्जाबाट वञ्चित गरेर समग्र र दिगो विकासमा बाधा पुर्‍याउने भन्दै सहमहामन्त्री परियारले ‘पोलिसी ह्याकाथोन’ले युवाहरूको उर्जा, रचनात्मकता र अन्तरदृष्टि संकलन गरेर राष्ट्र निमार्णमा सहयोग गर्ने बताए ।

यस ‘पोलिसी ह्याकाथोन’ मा सहभागी युवाहरुले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’सम्बन्धी नीतिगत मुद्दाहरूलाई पहिचान र सम्बोधन गर्न नविन समाधानहरूको खोजी गर्न सक्ने छन् । जसमा आफुले उठान गरेका विषयको अवस्था विष्लेषण, नीतिगत समस्या र चुनौती, समाधानका उपायहरु समावेश हुनेछन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *