नयाँ दिल्ली । आम आदमी पार्टीका राज्यसभा सांसद सञ्जय सिंहलाई पूरै मनसुन सत्रका लागि निलम्बन गरिएको छ । उपराष्ट्रपति जगदीप धनखरले सञ्जय सिंहलाई एक संसद् सत्रका लागि निलम्बन गरेका हुन् ।
राज्यसभामा भाजपा नेता तथा केन्द्रीय मन्त्री पियुष गोयलले राज्यसभा अध्यक्ष धनखरलाई सञ्जय सिंहविरुद्ध कारबाही गर्न अनुरोध गरेपछि उपराष्ट्रपति जगदीप धनखरले उनलाई निलम्बन गरेका हुन् ।
पियुष गोयलले सदनमा भने, ‘सञ्जय सिंहको आचरण नियम विपरित छ, म सञ्जय सिंहलाई कारबाही गर्न अध्यक्षलाई अनुरोध गर्दछु।’ त्यसमा अध्यक्ष धनखरले आवाज मतदानबाट सांसदहरुबाट सहमति लिएर सञ्जय सिंहलाई निलम्बन गरेका थिए ।
सञ्जय सिंहलगायत विपक्षी दलका नेताहरूले मणिपुरको मुद्दामा संसदमा प्रधानमन्त्री नरेन्द्र मोदीको जवाफ मागेका छन्। यो मागलाई लिएर संसदमा मनसुन अधिवेशनको पहिलो दिनदेखि नै हंगामा भइरहेको छ ।




