काठमाडौं । अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा आज तीन खेल हुँदै छन् ।
मेलबर्नमा भइरहेको समूह-बीको खेलमा नाइजेरिया र क्यानडा आमने-सामने छन् । खेल नेपाली समय अनुसार अहिले सवा ८ बजे सुरु भएको छ । क्यानडालाई पनि उपाधिको दाबेदार मध्ये एक टिमका रूपमा हेरिएको छ ।
सन् २०२० को टोकियो ओलम्पिकको स्वर्ण विजेता क्यानडाले पहिलो विश्वकप बाहेक सबैमा सहभागिता जनाउँदै आएको छ । पछिल्लो समय क्यानडाको महिला टिम मैदान बाहिरको गतिविधिका कारण बढी चर्चामा छ ।
महिला खेलाडी समान पारिश्रमिकको माग गर्दै आन्दोलनरत छन् । क्यानडाको विश्वकपमा उच्च प्रदर्शन भनेको २००३ मा सेमिफाइनल खेल्नु हो । नाइजेरिया एघार पटकको अफ्रिकन कप अफ नेशन्स विजेता हो । दुवै टिम आजको पहिलो खेलमा तीन अंक जोड्न चाहन्छन् ।
समूह-ए को अर्को खेलमा फिलिपिन्स र स्विटजरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । न्युजिल्यान्डको डुनेडिनमा हुने खेल आजै पौने ११ बजे पछि हुनेछ । फिलिपिन्स, विश्वकपको डेब्यु खेल स्मरणीय बनाउने लक्ष्यसहित मैदान उत्रनेछ । २०१५ मा डेब्यु गरेको स्विस टिमको यो केवल दोस्रो विश्वकप हो । चार वर्ष अघि उ छनोटमै असफल भएको थियो ।
आजको तेस्रो खेलमा समूह-सी मा रहेको स्पेनले कोस्टारिकाको सामना गर्नेछ । लामो समय चोटका कारण मैदान बाहिर रहेकी स्पेनिस स्ट्राइकर एलेक्सिया पुटियास टिममा फर्किएकी छन् । २०१५ को डेब्यु विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन चार वर्ष अघि अन्तिम १६ सम्म पुगेको थियो ।
आठ वर्ष पछि विश्वकपमा फर्किएको कोस्टारिका पहिलो पटक नकआउट पुग्ने लक्ष्यमा छ ।




