साउन २ मंगलबार : संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभर घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचारः
कांग्रेस केन्द्रिय समिति बैठकको निर्णय : २२ वटा विभाग थप्न प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने र पाँचदेखि सात लाख नयाँ सदस्य बनाउने कार्ययोजना अघि सारेका छन्। मंगललबारदेखि सुरू भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्तुत गरेका हुन्।
महामन्त्री थापाले थप २२ वटा विभाग थप्न प्रस्ताव गरेका छन् । कांग्रेस विधानमा ४८ वटा विभाग छ । अहिलेसम्म एउटामात्रै विभाग गठन भएको छ । भदौ १५ गतेभित्र विभाग बनाउने उनले बताए । उनले प्रत्येक विभागले आफ्नो कार्यक्षेत्रअन्तगतको कामहरुको कार्ययोजना बनाइ भदौ मसान्तसम्म पेश गर्नुपर्ने बताए । वर्षभरिको प्रगति विवरण ६६ महिनामा पेश गर्नुपर्ने थापाले उल्लेख गरे । बैठकमा महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा राजनीतिक क्यालेन्डर प्रस्तुत गरेका छन् । यस्तै बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन् ।
महामन्त्री थापाले आगामी एक वर्षमा बस्ने ६ वटा केन्द्रीय कार्यसमितिका बैठकमध्ये दुईवटा काठमाडौँ उपत्यकाबाहिर बस्ने प्रस्ताव पेस गरेका छन् । कांग्रेसको विधानतः प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्नेछ । जारी केन्द्रीय समिति बैठकमा सोही व्यवस्थाअनुसार आगामी ६ वटा बैठकको मिति प्रस्ताव गर्दै महामन्त्री थापाले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गर्दै वर्षमा दुई वटा बैठक काठमाडौँ उपत्यका बाहिर बस्नेगरी प्रस्ताव गरेका हुन् । मंगलबार स्थगित भएको केन्द्रिय समिति बैठक पुनः बुधबार बस्ने भएको छ ।
गच्छदार, खाँण र गुरुङबारे कांग्रेसले कुनै निर्णय नगर्ने
भ्रष्टाचार र ठगी मुद्दा लागेका नेपाली कांग्रेसका तीनजना केन्द्रीय सदस्यबारे केन्द्रीय समिति बैठकमा कुनै एजेन्डा नबन्ने भएको छ । करिब एक सातासम्म चल्ने बैठकमा चुनावदेखि सरकारमा सामेल मन्त्रीहरूको कामकारबाहीसम्मको समीक्षा हुने भएको छ । तर, तीन केन्द्रीय सदस्यबारे बैठकमा पार्टीले एजेन्डा नबाउने भएको छ ।
कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदार, केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र टेकप्रसाद गुरुङमाथि भ्रष्टाचार र ठगी मुद्दा छ । गच्छदार बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका छन् । उनी अहिले १० लाख धरौटीमा रिहा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा तारिख बुझिरहेका छन् ।
खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् ।
एलडिसिलाई सहयोग गर्न विश्व समुदायलाई आग्रह
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अल्पविकसित देश (एलडिसि) लाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन ।
अमेरिकाको न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न तथा नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडिसिलाई सहयोगको खाँचो रहेको बताए । उनले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा जोड दिए ।
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च ९एचएलपीएफ० मा अल्पविकसित देश (एलडिसि) को तर्फबाट सम्बोधन गरेका हुन । यसअघि उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली मञ्चको तीन दिने उच्चस्तरीय सम्मेलनको उद्घाटन शत्रमासमेत सहभागी भएका थियो । उक्त फोरममा विभिन्न देशका मन्त्रिस्तरीय प्रतिनिधिको सहभागिता छ ।
भीम रावल पुनः एमालेमा भए सक्रिय
नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् ।
गृह जिल्ला अछाम पुगेका पुर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिबिधि र काम कारबाहीका बारेमा छलफल गरेका छन । उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन् ।
चितवन महाधिवेसनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा पार्टी गतिबिधिवाट टाढा रहदैँ आएका थिए । केन्द्रिय सदस्यसमेत अस्विकार गरेका रावलले पार्टीको पद तथा गोपनियताको सपथसमेत लिएका थिएन । उनलाई पार्टीमा सक्रिय बनाउनका लागि बार्ता टोली गठनसमेत गरिएको थियो । तर, लामो समय देखी पार्टी गतिबिधिमा असंलग्न रहदै आएका रावल आज भने गृह जिल्ला अछाममा पार्टीको ब्यानर र झन्डा मुनी बसेर छलफल गरिरहेका थिए ।
नेसपा सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुखमा मानुषी
नेपाल समाजवादी पार्टी (नेसप)ले मानुषी यमी भट्टराईको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन गरेको छ।
विभागले पार्टी संगठनका अभिलेख डिजिटलाइन गर्ने, पार्टीको संगठन विस्तारलगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक प्रविधिको प्रयोग गर्न योजना बनाउने काम गर्ने बताइएको छ।
पार्टीबारे सूचना, जानकारी र पार्टीको गतिविधि वेबसाइट, सामाजिक सञ्जाललगायतमा सम्प्रेषण गर्ने, पार्टी र जनताबीच पहुँचयोग्य, सरल दुईतर्फी सञ्चार निर्माण गर्ने, पार्टीभित्रको आन्तरिक सञ्चार सहज, व्यवस्थित र स्मार्ट बनाउन विभागले काम गर्नेछ। नेसपाले साउन १ गतेदेखि संगठन सुदृढीकरण अभियानसमेत सञ्चालन गरेको छ।
अर्थमन्त्री महत र भारतीय अर्थमन्त्री सितारामणबीच गुजरातमा भेटवार्ता
गुजरात । भारतको गुजरातमा भइरहेको अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामणबीच द्विपक्षीय साईडलाइन बैठक सम्पन्न भएको छ । बैठकमा आपसि सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको हो । नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुबै अर्थमन्त्रीले जोड दिएका थिए ।
अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रणको क्रममा सम्पन्न विद्युत निर्यात सम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी दस बर्षमा १० हजार मेघावाट जल विद्युत भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने विषय उल्लेख गरे ।
दुई देशवीचको ब्यापार तथा लगानी सहजीकरणको लागि मिलेर काम गर्ने विषयमा एउटै मत रहेको थियो ।
स्वीस टूरिजम अवार्ड २०२३ का लागि काठमाडौं महानगरपालिका छनोट
काठमाडौं महानगरपालिका ‘स्वीस टूटिजम अवार्ड २०२३ ’का लागि छनोट भएको छ । यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाडौं महानगरपालिका छनोट भएको पत्र पठाउँदै आयोजकले भनेको छन्, ‘पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीहरूको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको हो । यस क्षेत्रका आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्टतालाई प्रवर्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ ।’
काठमाडौंको सांस्कृतिक, धार्मिक र पुरातात्त्विक इतिहास, मूर्त अमूर्त सम्पदा र जीवन्त सहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने गरेको उल्लेख पत्रमा उल्लेख गरिएको छ । ‘यसले विश्वभरका आगन्तुकहरूलाई मोहित बनाउँछ ।’
यो अवार्ड विगत १५ वर्षदेखि भइरहेको छ । अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्छन् । आवेदकमध्येबाट निश्चित सङ्ख्यामा अवार्डका लागि मनोनयन गरिन्छ ।
साउन महिनाभरी पुरानै परिचयपत्रका आधारमा सिंहदरबार प्रवेशको अनुमति
पत्रकारहरुले साउन महिनाभरी पुरानै परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्न सक्ने भएका छन् । सूचना विभागबाट प्रदान गरिने परिचयपत्रको म्याद आर्थिक वर्षको अन्त्य पश्चात सकिएपनि नविकरणमा केही समस्या आएकाले साउन महिनाभरी पुराने परिचयपत्रका आधारमा पत्रकारहरुले सिंहदरबार प्रवेश गर्न सक्ने गृहमन्त्रीको सचिवालले जनाएको छ ।
गृहमन्त्रालयले मंगलबार एक सुचना जारी गर्दै पत्रकारहरुलाई पुरानै परिचयपत्रका आधारमा साउन महिनाभरी सिंहदरबार प्रवेशमा अनुमति दिन सिंहदरबार सुरक्षा गणका प्रमुख (डिएसपी) सन्तोष तामाङसँग आवश्यक समन्वय गरेको गृमन्त्रालय स्रोतले जानकारी दिएको हो ।
गृहमन्त्रालयमा भएको अनौपचारिक छलफलअनुसार पत्रकारहरुले साउन महिनाभरी पुरानै परिचयपत्रका आधारमा प्रवेश पाउने र यसबीचमा सूचना विभागको आफ्नो परिचयपत्र नवीकरण गरिसक्नुपर्ने जनाइएको छ । सोही बमोजिम डिएसपी तामाङले माताहतका सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिएको मन्त्रालयले जनाएको हो ।
ललिता निवास प्रकरण : सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा
ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ मंगलबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी बुधबारका लागि पेशी तोकिएको हो ।
सञ्चार सचिव राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरूलाई गैरकानुनी थुनामा राखिएको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।
सोमबारका लागि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएकामा उक्त दिन सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखी मंगलबारका लागि पेशी तोकिएको थियो । तर मंगलबार पनि सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
‘भेप’सुन तस्करीमा संलग्न ५ जनालाई थुनामा राख्न आदेश
भेपको प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरीमा संलग्न रहि विक्रिवितरणमा संलग्न पाँच जनालाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले अहिले हिरासतमा भएका ६ जना प्रतिवादीमध्ये ५ जनालाई थुनामा पठाउन आदेश दिएको हो ।
भेपमा सुन तस्करी र चोरी प्रकरणमा प्रतिवादी बनाई अदालतमा पेस गरेका ६ जनामध्ये ५ जनालाई थुनामा पठाउने आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सुचना अधिकारी दिपक दाहालले जानकारी दिए । न्यायाधीश ढकालले सुन चोरी र विक्री वितरणमा संलग्न नासु रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत, सेक्युरिटी गार्ड निर्मल कुमार बिक र व्यापारीहरू वेदप्रकाश अग्रवाल तथा साहेब राव पाण्डुरङ मरगलाई थुनामा पठाउने आदेश दिएका हुन् ।




