काठमाडौं । नेपाल प्रहरीका लेखापालहरूको पदावधि घटाएर दुई वर्ष कम हुने भएको छ । विगतमा नेपाल प्रहरीका लेखापालहरुको पदावधि ८ वर्ष कायम गरिएकोमा अहिले सो अवधिलाई घटाएर ६ वर्ष बनाउने निर्णय नीति समन्वय समिति (पिसिसिले) ले गरेको नेपाल प्रहरीका डीआईजी कुवेर कँडेलले जानकारी दिए ।
पीसीसीको निर्णय अनुसार नेपाल प्रहरीका आईजीपी समेत रहेको बसन्तबहादुर कुँवरले कार्यान्वयनका लागीm यस्तो सर्कल बनाएको प्रहरी स्रोतले जनाएको छ । तत्कालीन आईजीपी धिरजप्रसाद सिंहले गत २०७९ असार २७ मा ६ वर्षको पदावधि बढाएर ८ वर्ष बनाएका थिए । तर एक वर्षको अवधि पुरा भएपछि अहिलेका आइजीपी कुँवरले सो अवधिलाई घटाएर पुनः ६ वर्ष नै बनाउने निर्णय गरेको हो ।
८ वर्षे सेवा अवधिका कारण तालिम प्राप्त लेखापालहरुले अवशरबाट बञ्चित हुनुपर्ने देखिएपछि सबैले उक्त सेवाबाट पछि पर्न नहुने उदेश्यका साथ सो गरेको उनको भनाइ छ ।
प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतका अनुसार पदावधि घटाउने सिफारिस मानव स्रोत विकास विभागका एआईजी सन्दीप भण्डारीले अघि बढाएका थिए । लेखापालको तालिम प्राप्त गरेर पनि जिम्मेवारी नपाएको गुनासो गृहमन्त्रीसमक्ष जुनिअर अधिकृतहरुले लगेका थिए ।
प्रहरी प्रधान कार्यालय मातहत बजेट चल्ने ५ सय ११ वटा युनिटमा लेखापालको दरबन्दी छ । २०७८ मा प्रहरी प्रधान कार्यालयले कार्यावधिलाई घटाएर ५ वर्ष बनाउने गरी गृह मन्त्रालयमा नयाँ मापदण्ड प्रस्ताव गरेपनि गृहमन्त्रालयले त्यसवारे निर्णय लिएको थिएन ।




