असार १८ सोमबार :संकल्प खबरले विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभर घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य समाचार
जनमत पार्टीलाई सरकारमा सामेल गराउनेमा गठबन्धनको सहमति
काठमाडौं । सत्ता गठबन्धनको बैठकमा जनमत पार्टीलाई सरकारमा समावेश गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले जनमतलाई सरकारमा समेट्ने समझदारी भएको हो ।
सरकारमा समेल हुने विषयमा जनमतले सहमति जनाएको छ तर कुन मन्त्रालय दिने भन्ने विषयमा भने निश्चित भएको छैन । माओवादी केन्द्रका कुनै एक मन्त्री फिर्ता बोलाएर जनमतलाई सरकारमा सहभागी गराउने बुझिएको छ ।
कांग्रेसले विभागको आफ्नै वेभसाईट र आधिकारिक समाजिक संजाल सञ्चालन गर्ने
नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा कांग्रेस केन्द्रीय कार्यालयमा सोमाबार बसेको बैठकले विभागको आफ्नै वेभसाइट र आधिकारिक सामाजिक संजाल संचालन गर्ने निर्णय गरेको छ ।
केन्द्रिय कार्यलय सानेपामा बसेको बैठकमा उपस्थत ३५ जना सदस्यहरुले आ– आफ्नै धारणा राख्दै विभिन्न निर्णयहरु गरेको कांग्रेस प्रचार विभाग प्रमूख मिनबहादुर विश्वकर्माले जानकारी दिए ।
मंगलबार परराष्ट्रमन्त्री साउद अजरबैजान जादैँ
परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलन स् उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ भन्ने नाराका साथ हुन गइरहेको बैठकलाई उनले असार २० गते सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।
गठबन्धनको निर्णय :कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने
सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस नेता उद्धव थापालाई बनाउन निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका प्रदेश पार्टीलाई पत्र लेख्ने निर्णय भएको एकीकृत समाजवादीका कार्यवहाक अध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
समानुपातिक सांसद र एउटा तहको निर्वाचनमा पराजित उम्मेदवारबारे कठोर कानुन
समानुपातिक सांसद र एउटा तहको निर्वाचनमा पराजित उम्मेदवार उमेदवार बन्न नपाउने भएका छन् ।
आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेर संघीय संसद, प्रदेशसभा वा स्थानीय तह निर्वाचनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपचुनाव बाहेक कुनै पनि तहमा त्यो कार्यकाल उम्मेदवार हुन नपाउने उल्लेख छ ।
एउटा तहको निर्वाचनमा पराजित भएको व्यक्ति पाँच वर्षसम्म अर्को तहमा उम्मेदवार हुन नपाउने, समानुपातिक सांसद दुईपटकभन्दा बढी हुन नपाउने, कुनै समानुपातिक निर्वाचन प्रणालीबाट दुई टक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नसक्ने निर्णय भएको छ । यस्तै आयोगले प्रत्यक्ष निर्वाचनतर्फ दलहरुले कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ ।
माधव नेपाल श्रीलंका ,राजेन्द्र पाण्डेलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गरेका छन् । उनी सोमबार दिउँसो राजनीतिक भ्रमणका लागि श्रीलंका प्रस्थान गरेका हुन् ।
नेपाल श्रीलंकन कम्युनिष्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको सन्दर्भमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिष्ट तथा बामपन्थी पार्टीहरुको बैठक र कन्फ्रेन्समा सहभागी हुन श्रीलंका गएका हुन् ।
आफू विदेश भ्रमणमा जाने भएपछि उनले उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।
‘लम्पी स्किन’को प्रकोपले ४० प्रतिशत दूधको उत्पादनमा गिरावट
देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ ।
दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भैसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन् ।
भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्याङ्अनुसार लम्पी स्किनको प्रकोप देखिनुअघि दैनिक एक सय १४ मेट्रिकटन दूध उत्पादन हुँदै आएकामा अहिले ३० देखि ४० प्रतिशतले उत्पादन घटेको छ ।
ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ,पक्राउ पर्नेको संख्या ९
ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो । रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले सोमबार पक्राउ परेको सीआईबीका एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।
पोखरेल समर्जिङ कम्पनीका तत्कालीन प्रमुख हुन् । महर्जन नक्कली मोही भएको एसएसपी आचार्यले बताए । योसँगै बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।
‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित
राष्ट्रियसभाले ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ लाई पारित गरेको छ ।
सोमबार बसेको राष्ट्रियसभा बैठकले उक्त विधेयक पारित गरेको हो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राखेको नेपाल विश्वविद्यालय विधेयक–२०७९ लाई पारित गरियोस् भन्ने प्रस्तावले बहुमतले पारित गरेको हो ।
बहस छाडेर विरोधमा कानुन व्यवसायी
ललितपुर जिल्ला अदालतका नासु र कानुन व्यवसायीबिच भएको विवादको विषयलाई लिएर देशभरका कानुन व्यावसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
आसार १३ गते जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङमाथि हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका थिए । सोही घटनाको विरोधस्वरूप नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने घोषणा गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
उक्त घटनामा पक्राउ परेका अधिवक्ता लामिछाने आइतबार साधारण तारेखमा रिहा भइसकेका छन् । तर पनि कानुन व्यवसायीले घटनाको छानबिन हुनु पर्ने, दोषिलाई कारबाही गर्नु पर्ने र लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेका छन् ।




