खेलकुद

मलेसियालाई पराजित गर्दै नेपाल समूह विजेता

काठमाडौं । एसीसी इस्ट जोन यू १६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियामालाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा नेपालले मलेसियालाई ८४ रनले पराजित गरेको हो ।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३० दशमलब ५ ओभरमा ९९ रनमा अलआउट भयो ।

मलेसियाका लागि मोहम्मद हैरिलले २५ रन बनाए । कप्तान मोहम्मद आलिफले १५ तथा मुहम्मद अक्रमले १२ रन बनाए । मलेसियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि अशोक धामीले ४ विकेट लिए । कप्तान अभिषेक तिवारीले ३ तथा सन्तोष यादवले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाएको थियो । नेपालका लागि अशोक धामीले ५२ रनको अर्धशतकीय ईनिङ खेले । दिप कुमार ४१ र सुर्यांशु कोईरालाले २३ रन बनाए ।

मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाईकाल र मुहम्मद अक्रमले समान २÷२ तथा मोहम्मद फतुलले १ विकेट लिए । जितसँगै नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । पराजित मलेसिया समूह उप विजेता बनेको छ ।

नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । तीन टोली रहेको समूहबाट पहिलो खेलमा जित दर्तासँगै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *