राजनीति

बाबुरामलाई चाहियो संयुक्त सरकार

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संयुत्तः सरकार बनाउनुपर्ने बताएका छन् । भट्टराईले संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण गर्नुपर्ने बताएका छन् । प्रमुख दलहरूको संयुक्त सरकार बनेमा संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बॉकी कामको समापन गर्न सकिने उनको भनाइ छ ।

माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेकपा मिलेर समाजवादी मोर्चा बनाएको र त्यसमा आफूलाई नसमेटेपछि असन्तुष्ट बाबुरामले संयुक्त सरकारको माग गर्न थालेका हुन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण,संविधान र कानूनमा आवश्यक सुधार,शान्तिप्रकृयाका बॉकी कामको समापन,थप जटील बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन,जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन गर्दा ठीक होला कि ? नत्र समयले कसैलाई नपर्खन सक्छ ।’

भट्टराईले पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा प्रमुख दलहरूको संयुक्त सरकार बनाउँदा उपयुक्त हुने तर्क पनि पेस गरेका छन् । ‘गत आमचुनावयताको नेपाली राजनीतिको दिशा र गति झनझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताकोनिम्ति हितकर छैन । विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा, भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब, राज्यका स्थायी अंगहरूको क्षयीकरण र भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन् ।’

बिहीबार मात्रै उनले २०८४ को निर्वाचनमा नयाँ दलको सरकार बन्ने भविष्यवाणी गरेका थिए । उनले कांग्रेस, एमाले र माओवादीको सरकार नबन्ने ठोकुवा नै गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *