विश्व

टर्कीमा आज नयाँ राष्ट्रपति चयन गर्न दोस्रो चरणको निर्वाचन

अन्कारा । टर्कीका आज नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुँदैछ ।

दुई साताअघि भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत मत ल्याउन नसकेकाले आज दोस्रो तथा अन्तिम चरणको मतदान हुन लागेको हो । राष्ट्रपति चयनका लागि खसेको मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्दछ ।

पहिलो चरणको मतदानमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार अर्थात राष्ट्रपति रिसेप तैयप एर्दोआन र विपक्षी नेता केमाल क्लुच-दारोलु मात्रै आजको प्रतिष्पर्धामा छन् ।

आजको निर्वाचनले प्रधानमन्त्री र राष्ट्रपति गरी २० वर्ष अनवरत् सत्तामा रहेका एर्दोआनलाई थप पाँच वर्षका लागि सत्ता सुम्पने वा नसुम्पने निर्णय गर्नेछ ।

टर्कीमा ६ करोड ४० लाख योग्य मतदाता रहेकोमा पहिलो चरणको मतदानमा ८८.८ प्रतिशत मत खसेको थियो । राष्ट्रपति एर्दोआनले आफ्ना प्रतिद्वन्द्वी केमालभन्दा २५ लाख मत बढी ल्याएका थिए । एर्दोआनले ४९.५ र केमालले ४४.८९ प्रतिशत मत पाएका थिए ।

दुवैको ध्यान पहिलो चरणमा मतदान नगरेका ८० लाख मतदातामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

दोस्रो चरणको मतदान हुनु अघि केमालले आफूलाई सामूहिक मोबाइल म्यासेज पठाउनमा रोक लगाइएको तर एर्दोआनलाई छुट दिइएको भन्दै धाँधलीको आरोप लगाएका छन् ।

केमाल विपक्षी ६ वटा दलको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *