काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । यो खेलपछि ए डिभिजन लिगको १० औँ चरण सकिने छ ।
दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा पूर्व विजेता थ्रीस्टार र हिमालयन शेर्पा आमनेसामने हुनेछन् ।
तेस्रो स्थानमा रहेको ललितपुरको क्लब थ्रीस्टारले आजको खेल जिते दोस्रो स्थानमा उक्लने मौका रहनेछ । मेघराज केसीको टोलीले पछिल्लो पाँच खेलमा दुईमा जित दुईमा बराबरी र एकमा पराजय व्यहोरेको छ ।
यता शेर्पाले पछिल्लो पाँच खेलमा मात्रै एक जित हात पारेको छ । अघिल्लो सिजन यी दुईबीच भेट हुँदा थ्रीस्टार २ – ० गोलले विजयी भएको थियो ।
यस्तै आज साँझ ६ बजे ललितपुरका दुई क्लब चर्च ब्वाइज र सातदोबाटो आमनेसामने हुने तालिका छ ।
दशरथ रंगशालामा हुने खेलमा जित हात पारे सातदोबाटो शीर्ष स्थानमा उक्लने सम्भावना रहनेछ । पछिल्ला पाँच खेल जितविहीन चर्च ब्वाइज स्पष्ट तीन अंकको खोजीमा हुनेछ । हाल यो क्लब छैटौँ स्थानमा छ ।
२० अंक बनाएको जावलाखेल लिग तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको सातदोबाटोको १७ अंक छ ।



