काठमाडौँ । आइसिसी विश्वकप क्वालिफायर खेल्ने नौं टिमको टुंगो लागेको छ । विश्वकप प्लेअफबाट अमेरिका र युएई छनौट भएसँगै क्वालिफायर खेल्ने नौं देशको टुंगो लागेको हो ।
क्वालिफायरमा अहिलेसम्म नेपालसहित स्कटल्याण्ड, ओमान लिग-२ बाट छनौट भएका छन् भने प्लेअफबाट अमेरिका र युएई छनौट भएका छन् ।
अमेरिका प्लेअफमा ८ अंक हासिल गर्दै क्वालिफायरमा छनौट भएको छ भने युएई अंक तालिकामा नामिबियासँग बराबर रहेपनि आइसीसीको नियम अनुसार हेड टु हेडका आधारमा निर्णय हुने हुनाले युएईले नामिबियालाई पराजित गरेकोले क्वालिफायरमा स्थान सुरक्षित गरेको हो । अब युएई आज हुने जर्सीविरुद्धको खेलमा पराजित भएपनि क्वालिफायरमा छनौट भइसकेको छ ।
त्यस्तै सुपर लिगको अन्तिम पाँचमा रहने देश मध्ये चार देशको टुंगो लागिसकेको छ । जसमा नेदरल्याण्डस, श्रीलंका, वेस्टइन्डिज र जिम्बाबेको क्य्वालिफायर खेल्ने टुंगो लागिसकेको छ ।
अब आयरल्याण्ड र दक्षिण अफ्रीका मध्ये एक देश क्वालिफायर खेल्ने छन् । यसको टुंगो भने अर्को महिना हुने आयरल्यान्ड र बंगलादेशबीचको सिरिजपछि लाग्ने छ । तीन एक दिवसीय खेलको सो सिरिज ३-० ले आयरल्याण्डले जितेमा दक्षिण अफ्रीकासँग समान ९८ अंक हुनेछ । सुपर लिगमा यी दुवै टिम बीच हेड टु हेड पनि १-१ को बराबरी रहेकाले त्यस अवस्थामा रन रेटको आधारमा निर्णय हुने छ ।
आयरल्यान्ड अहिले २१ खेलमा ६ मा जित र १३ मा हारसहित ६८ अंक्का साथ ११औं स्थानमा रहेको छ ।
सुपर लिगको नियम अनुसार आयोजक भारतसहित शीर्ष आठ टोलीले मात्रै विश्वकपमा सोझै स्थान बनाउछन् । भारत, पाकिस्तान, बंगलादेश, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान र इङल्याण्डसहित ७ देश सिधै विश्वकपमा पुगि सकेका छन् ।
आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप क्वालिफायरमा १० देशको सहभागीता रहनेछ । सुपर लिगका पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन टोली र क्वालिफायर प्लेअफका शीर्ष दुई गरि कुल १० देश हुनेछन् ।
विश्वकप क्वालिफायरमा १० देशलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट शीर्ष ३-३ देशले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा एकअर्कासँग सबै टोलीले खेलेपछि शीर्ष दुई टोलीले भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।




