काठमाडौं । खानेपानी मन्त्रालयले ‘खानेपानी तथा सरसफाइ नियमावली २०७९’ को मस्यौदामाथि छलफल सुरु गरेको छ । सहसचिव तिरेशप्रसाद खत्रीको संयोजकत्वमा गठित मस्यौदा समितिले तयार पारेको नियमावर्ली संशोधनका लागि बुँदागत रुपमा छलफल सुरु गरेको हो ।
नियमावलीमा भएको हरेक बुँदालाई खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर नारायणप्रसाद आचार्यले प्रस्तुतीकरण दिएपछि कार्यक्रममा सहभागीहरूले पालैपालो बुँदागत रुपमा सुझाव दिनेछन् । जसलाई नियमावलीमा बुँदागत राखिने भएको छ ।
छलफलमा खानेपानी मन्त्रालयका सचिव मणिराम गेलाल, मन्त्रालयका सहसचिव तथा उपसचिवहरु, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रमाकान्त दुवाडी तथा उपमहानिर्देशकहरु रामकुमार श्रेष्ठ र माधव अधिकारी एवं काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीवविक्रम राणा, पूर्वखानेपानी सचिवहरु, पूर्वउपमहानिर्देशकहरुलगायत सहभागी छन्।

मन्त्रालयले मूर्तरुप प्रदान गरेपछि खानेपानी तथा सरसफाइ नियमावलीलाई खानेपानी तथा सरसफाइ क्षेत्रका सरोकारवालासँग व्यापक छलफल गरिने भ्याली बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिए । छलफलमा उठेका विषयवस्तु र पृष्ठपोषणलाई समेटेर मस्यौदालाई पुनः संशोधन गरिने उनको भनाइ छ ।
प्रारम्भिक मस्यौदालाई व्यापक छलफलमा लैजानु अघि मूर्तरुप प्रदान गर्न खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड लगायत निकायले आन्तरिक छलफल गरी संशोधन गर्न सुरु गरिएको हो ।
‘खानेपानी तथा सरसफाइ ऐन २०७९’ भदौ २१ गते नै पारित भइसकेको छ । ऐन पारित भएको ३१ दिनपछि ऐन लागू हुने प्रावधान भए पनि नियमावलीको अभावमा ऐन कार्यान्वयनमा समस्या आएकाले संशोधनका लागि छलफल सुरु भएको हो । विभिन्न मन्त्रालयको राय सुझावलाई समेत समेटेर खानेपानी तथा सरसफाइ नियमावलीलाई अन्तिम रुप प्रदान गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइनेछ ।




