दुबई । विश्व नम्बर एक नोभाक जोकोभिचको अपराजित यात्रामा पूर्णविराम लागेको छ । दुबई टेनिस च्याम्पियनपसिपको सेमिफाइनलमा रुसका डेनिल मेतभेदेभले जोकोभिचलाई सोझो सेटमा पराजित गरेका हुन् ।
सर्वियाका जोकोभिचको यो वर्षको पहिलो हार हो । यसअघिसम्म उनले लगातार १३ खेल जितेका थिए । तर मेतभेदेभविरुद्धको खेलमा भने जोकोभिच कमजोर सावित भए । तेस्रो वरियताका मेतभेदेभले ६–४ ले जितेका थिए । दोस्रो सेटमा पनि ३५ वर्षीय जोकोभिच खेलमा फर्कन सकेनन् । दोस्रो सेट पनि मेतभेदेभले ६–४ ले नै जितेपछि जोकोभिचको छैटौ उपाधि जित्ने सपना सेमिफाइनल भन्दा अघि बढ्न सकेन ।
यी दुईले एक घन्टा ३५ मिनेट कोर्टमा बिताएका थिए । खेलपछि २२ पटकका ग्रान्डस्लाम जोकोभिचले उत्कृष्ट विपक्षीसंग पराजित भएको प्रतिक्रिया दिएका थिए । २७ वर्षका मेतभेदेभ भने लगातार तेस्रो एटीपी टुर लेभल उपाधि जित्न चाहन्छन् । गत फेब्रुअरीमा उनले रट्रेडम र दोहा ओपन जितेका थिए ।
अब उनले फाइनलमा रुसकै आन्द्रे रुवलेभसँग खेल्नेछन् । साविक विजेता रुवलेभले जर्मनीका अलेक्जेन्डर ज्वेरेभलाई हराएका हुन् । उनले ज्वेरेभ माथि पहिलो सेट ६–३ ले जिते । दोस्रो सेट भने प्रतिस्पर्धात्मक बन्दै टाइब्रेकरमा पुगेको थियो । तर रुवलेभले ७–६ ले जित्दै फाइनलमा स्थान सुरक्षित गरे । रुवलेभले ज्वेरेभलाई छैटौँ प्रयासमा पहिलो पटक हराएका हुन् ।
खेल सकिएपछि रुवलेभले शान्तिका लागि आह्वान गरेका छन् । गत वर्ष रुसले युक्रेनमाथि आक्रमण गरे लगत्तै उनले क्यामराको लेन्समा नो वार प्लिज खेलेका थिए । पत्रकार सम्मेलनमा बोल्दै उनले सर्वसाधरण मानिसले ज्यान गुमाइ रहेको हेर्न पीडादायी भएको भन्दै शान्ति स्थापनाका लागि पहल गर्न आग्रह गरेका हुन् । रुसले युक्रेनमाथि एक वर्ष अघि सुरु गरेको सैन्य कारबाहीबाट दुवैतर्फ हजारौँ सर्वसाधरणले ज्यान गुमाएका छन् ।



