काठमाडौं । सत्ता गठबन्धन दलको कार्यदलले, सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा गठबन्धनका शीर्ष नेतासमक्ष पेस गरेको छ । मुलुकको आर्थिक सुधार र सुशासनलाई प्राथमिकता दिँदै सरकारको न्यूनतम् साझा कार्यक्रमको मस्यौदा कार्यदलले तयार पारेको छ ।
नेकपा माओवादी केन्द्रले वामपन्थी पार्टी र समूहबीच एकताका लागि वार्ता र छलफल गर्न कार्यदल गठन गरेको छ । पार्टी पदाधिकारीको शनिवार बसेको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै संसद्मा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । शनिबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभापति देउवाले पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका हुन् ।
नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री गगनकुमार थापाले आफूहरू प्रतिपक्ष दल भएको हैसियतले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन् ।
नेकपा माओवादी केन्द्र र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकीकरण हुने भएको छ । शनिबार माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाका अध्यक्ष भट्टराईबीच भएको छलफलमा दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही पुस २६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन एमाले सांसदहरुलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदहरुका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुस २६ गते समयमै बैठकमा उपस्थित भएर प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन निर्देशन दिएका हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैलाई आफ्नो शक्ति बलियो भएको भ्रम परेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले कसको शक्ति बलियो, कसको शक्ति कमजोर चुनावको मैदानमा मात्र थाहा भएको बताएका छन् ।
सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा बृहत लोकतान्त्रिक समावेशी, पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित भएका छन् । निरौलाले प्रगतिशील,पेशागत तथा गणतान्त्रिक,लोकतान्त्रिक,समाजवादी र समावेशी कानुन व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता तुलसी भट्टलाई १४ मतान्तरले पराजित गरेका हुन् । निरौलाले २८९ मत पाए भने भट्टले २७५ मत पाए ।
संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो । रोमान्चक खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गरेपछि संकटा च्याम्पियन बनेको हो ।
अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा केभिन म्याककार्थी निर्वाचित भएका छन् । १४ पटकको मतदानमा हार बेहोरेका उनी १५औं पटकमा निर्वाचित भएका हुन् । सभामुख चयनका लागि ४२८ भोट खसेको थियो त्यसमध्ये म्याककार्थीले २१६ मत प्राप्त गरे । डेमोक्रेटिक उम्मेदवार हकीम जेफ्रिजले भने २१२ मत प्राप्त गरे ।




