समाचार

एमसीसी अन्तर्गतको ३१५ किलोमिटर लामो प्रसारणलाइन निर्माणको ठेक्का आह्वान, २०२८ सम्ममा सक्ने लक्ष्य

काठमाडौं ।मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए)ले विद्युतीय प्रसारण लाइन निर्माणको काम अघि बढाएको छ । एमसीए नेपालले आज विद्युत् प्रसारणलाइन निर्माणको ठेक्का आह्वान गर्दै आयोजनाको काम अघि बढाएको हो ।

आयोजनाले आज प्रसारणलाइन निर्माणको लागि ३ चरणको ठेक्का आह्वान गरेको छ । पहिलो चरणमा लप्सिफेदी–रातामाटे–हेटौँडा ४०० केभी (१७७ किलोमिटर)को प्रसारणलाइन निर्माणको ठेक्का आह्वान गरिएको छ । यस्तै, दोस्रो चरणमा रातामाटे–दमौली ४०० केभी (९० किलोमिटर)को र तेस्रो चरणमा दमौली–बुटवल ४०० केभी (१०८ किलोमिटर)को प्रसारणलाइन निर्माणको ठेक्का आह्वान भएको छ । आयोजनाले कूल ३१५ किलोमिटर लामो प्रसारणलाइन निर्माण गर्नेछ ।

आज आह्वान भएको ठेक्कामा यही वर्षको अन्त्यसम्म अर्थात् चैत २९ गतेसम्ममा आवेदन दिनुपर्ने एमसीए नेपालको कार्यालयले जनाएको छ । ठेक्का पाउने कम्पनीले आयोजनाको डिजाइन, सप्लाई, डेलिभरी, इन्सटलेसन, टेष्टिङ र कमिनसिङ गर्नुपर्ने एमसीए नेपालको कार्यालयले जनाएको छ ।

आगामी ५ वर्षमा निर्माण सक्नुपर्ने आयोजनाको रूपमा रहेको यो प्रसारणलाइनको निर्माण सन् २०२८ मा सम्पन्न गर्नुपर्ने बताइएको छ । आयोजनामा कूल ८८६ वटा टावर निर्माण हुनेछन् भने यसका लागि करिब २ लाख १२ हजार वटा रुख काट्नुपर्ने छ । यो आयोजना अन्तर्गतको प्रसारणलाइन काठमाडौँ–सिन्धुपाल्चोक–नुवाकोट–धादिङ–मकवानपुर–चितवन–तनहुँ–पाल्पा–नवलपुर र परासी हुँदै भारततर्फ जानेछ ।

४०० केभी डबल सर्किटको प्रसारणलाइनले ३००० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्नेछ । यो प्रसारणलाइन निर्माण सम्पन्न भएपछि भारततर्फ विद्युत् व्यापारका लागि नेपालको दोस्रो प्रसारणलाइन हुनेछ । र, यसका लागि ११४ मिलियन अमेरिकी डलर खर्च लाग्ने एमसीए नेपालको आङ्कलन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *