काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका–७ का विष्णु जोशीलाई दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने र दैजीको छेलामा औद्योगिक क्षेत्र स्थापना हुने सुनेको दशकभन्दा बढी भइसक्यो ।
रोजगारीको सिलसिलामा भारतमा रहेका उहाँ यसपटक मतदान गरेर फर्किने तयारीमा रहेका छन् । “गएको चुनावमा औद्योगिक क्षेत्र बन्छ यहीँ रोजगारी पाइन्छ भनेर म पनि उत्साही भएर भोट हालेको थिएँ”, उजले भने “भारतमा काम गर्ने बेला नेपालका नेताको समाचार सुन्दा दिक्क लाग्थ्यो ।”
उनले निर्वाचनको बेला मात्रै विकासका आश्वासन दिने र पछि काम नगर्ने प्रवृत्तिले दलहरु प्रति वितृष्णा जागेको बताए । “हामीले धेरै चुनावमा आश्वासन पायाँै अब हामीलाई विकास चाहियो”, उनले भने , “यसपटक पनि आश्वासन धेरै पाइएको छ, हेरौँ के गर्छन् ।” अहिले पनि यहाँका उम्मेदवारले दैजी छेलामा औद्योगिक क्षेत्र स्थापना गर्ने, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निमार्ण गर्ने र महाकाली करिडोर निर्माण गरी कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने चुनावी मुद्दा बनाएका छन् ।
दोधारा चाँदनी नगरपालिका–८ का इन्दा सुनारलाई दोधारा चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाको कुरा सुनेको करिब सात वर्ष भयो । “अघिल्लो निर्वाचनका बेला यहाँ सुक्खा बन्दरगाह बन्छ, रोजगारी पाइन्छ भन्थे”,उनले भने , “अहिले पनि उम्मेदवारले त्यही आश्वासन मात्रै दिने गरेका छन ।” उनले उपचारका लागि दोधारा चाँदनीमै अस्पताल हुनुपर्ने बताए । “हामीलाई उपचार गर्न धेरै समस्या पर्छ यहाँ सुविधा सम्पन्न अस्पताल छैन”, उनले भने , “हामीलाई ,बिजुली, खानेपानी र अस्पताल चाहियो ।”
उहाँले यसपटक पनि गाउँमा सुविधा नभए अर्को पटक मतदान नगर्ने बताए । भीमदत्त नगरपालिका–९ का राम नाथलाई महाकाली करिडोर घरआँगनमै पुग्छ भन्ने सुनेको करिब दशक भइसक्यो । “महाकाली करिडोर बन्छ मात्रै भन्छन तर बन्ने कहिले हो ? ”, उनले आक्रोसित हुँदै भने , “हाम्रो पालामा त त्यस्तै हो नातिको पालामा बन्ला ।” उनले विकास कुरा धेरै सुनेको तर काम कहीँ नभएको बताए । उनी यसपटक मतदान नगर्ने मनस्थितिमा छन् ।
मङसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा यहाँका उम्मेदवारले महाकाली करिडोर, दोधारा चाँदनीमा सुक्खा बन्दरगा र दैजीछेला औद्योगिक क्षेत्रको मुद्दा प्राथमिकताका साथ उठाएका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार मतदातालाई आश्वस्त पार्न व्यस्त छन् ।




