काठमाडौं । निर्वाचन आयोग र नेपाल प्रहरी चुनावको मुखमा प्रमुख दलका शीर्ष नेताहरूको मथिंगल हल्लाउने ‘नो नट अगेन’ फेसबुक पेज चलाउनेमाथि कारबाही गर्ने तयारीमा लागेको छ । निर्वाचन आयोगले शीर्ष नेताहरूमाथि लाञ्छना लगाउने र भ्रम फैलाउने भन्दै ‘नो नट अगेन’ पेज बन्द गर्न र नगरे कारबाही गर्ने चेतावनी दिइसकेको छ ।
कात्तिक ११ गते निर्वाचनमा आयोगमा भएको पदाधिकारी छलफलमा समेत यो पेज सञ्चालकबारे चासो व्यक्त भएको भयो । स्वतन्त्र उम्मेदवारदेखि राजावादी समूहहरूले पेज चलाएको हुन सक्ने आशंका प्रकट भएको स्रोतले बतायो ।
निर्वाचन आयोगको चेतावनपछि पनि अभियान नरोकिएपछि निर्वाचन आयोगले ‘नो नट अगेन’ नामको फेसबुक पेज र ग्रुप चलाउनेलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरिसकेको छ । कात्तिक ८ गते ब्युरोलाई आयोगले पत्र लेख्दै निर्वाचनमा उम्मेदवार रहेका विभिन्न दलका नेताहरूबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण भव्य श्रव्यदृश्य सामग्री प्रकाशन गर्ने यो पेजलाई कानुनबमोजिम कारबाही गर्न निर्देशन दिइएको छ ।
आयोगले काटेको पत्रमा यसलाई कसुरको हवाला दिँदै यस्तो कसुर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्थासमेत उल्लेख छ । आयोगले पत्र काटेको पाँच दिन बितिसक्दा पनि ब्युरोले यो अभियानको सुरुवातकर्ता पत्ता लगाउन सकेको छैन । चाँडै यो अभियानमा लागेकालाई पक्राउ गर्ने प्रहरीको तयारी छ । ‘नो नट अगेन’ कै कारण निर्वाचनमा असर पुग्ने धेरैको ठम्याइँ छ ।




