काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराएका छन्।
शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले दल भित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गरेका हुन्।
केन्द्रीय सदस्य केसीले गठबन्धनमा मात्रै नभइ अहिले पार्टी भित्र पनि विविधता रहेको भन्दै संस्थापक पक्षले न्यायोचित रुपमा टिकट वितरण गर्ने विश्वास राखेको बताए। उनले एकातिर मापदण्ड र अर्कोतिर मन परेको व्यक्तिलाई टिकट वितरण नगर्न संस्थापक पक्षलाई आग्रह गरे।
उनले यदि संस्थापक पक्षले मनपरी गरेर टिकट दिन थाले त्यसको परिणाम गम्भीर हुने चेतावनी पनि दिए। केन्द्रीय सदस्य केसीले गठबन्धनका दलहरुले पनि गठबन्धन बाहिरका दलहरूसँग तालमेल गर्ने भन्ने कुरा नियमविपरीत हुने भएकोले यस बारेमा छलफल गर्न आवश्यक रहेको बताए।
‘गठबन्धन परिस्थितिको बाध्यताका कारण बनेको हो तर पनि संविधानलाई जोगाउनका लागि बनेको गठबन्धनले के का आधारमा सिट बाँडफाँट भयो भन्ने आधार जनता र कार्यकर्तालाई दिनुपर्छ । यो आधारमा यसरी सिट बाँडफाँट भयो भन्ने कुरा गठबन्धनले स्पष्ट रुपमा जनतालाई भन्नुपर्छ।’
उनले भने, ‘गठबन्धन बाहेकका दलहरु जो अर्को विपक्षीसँग मिलेर बसेको थियो । त्यसलाई पनि गठबन्धनमा मिलाउने भन्ने कुरा भएको छ । यसलाई उच्चस्तरीय संयन्त्रबाट छलफल होला नै । सर्वदलीय गठबन्धन समितिले यसमा छलफल गरोस् । एकातिर मापदण्ड र अर्कोतिर मन पर्नेलाई टिकट दिने काम नहोस् । यसले परिणाम गम्भीर बनाउन सक्छ।’
केन्द्रिय सदस्य केसीले मनपरी टिकट वितरणले गठबन्धनको लक्ष्य पूरा नहुने र निर्वाचनको परिणाममा पनि असर गर्ने बताए।




