काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
सत्ता गठबन्धनले साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न गठन गरेको कार्यदलको यो पहिलो बैठक हो। कार्यदलले दिएको सुझावअनुसार गठबन्धनका शीर्षनेताहरुले सिट बाँडफाँटको टुंगो लगाउनेछन्।
आजै बिहान कांग्रेस शीर्ष नेताहरुको बैठक बसेको थियो। बैठकमा नेताहरुले समान प्रतिनिधित्व हुनेगरी सिट बाँडफाट गर्न सुझाव दिएका थिए। कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २–२ जनाको प्रतिनिधित्व रहेको छ।
कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य छन्।
सरकारले आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरिसकेको छ। प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिट छन्। गठबन्धनभित्र अब सिट बाँडफाँटका विषयले अब स्थान पाउनेछन्।




