काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा निर्दाेष ठहरिएकाेमा खुसी व्यक्त गरेका छन् । शक्रबार प्रेस सेन्टर नेपालकाे दाेस्राे पूर्ण बैठकलाई सम्बाेधन गर्दै भनेका छन्, ‘अर्थमन्त्रीजीकाे बारेमा धेरै कुरा भनियाे । अब उहाँ निर्दाेष ठहरिनुभयाे । भर्खरै उहाँकाे बारेमा उठेकाे डिबेट झुटाे हाे भन्ने समितिले प्रतिवेदन ल्याएकाे छ ।’
उनले आफूले नै अध्यक्षकाे हैसियतमा संसदीय छानबिन समिति गठनमा सहमति जनाएकाे र संसदीय समिति बनेकाे उनले बताएका छन् । ‘खाएकाे विष पाे लाग्छ त नखाएकाे विष के लाग्छ भनेर समिति बन्याे । अब समितिले आराेप पुष्टि भएन भनेर भनियाे । याे कुरालाई जनताकाे बीचमा खुलेर भन्नुपर्छ ।’




