झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको बताएका छन् । आज (बुधबार) झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै ओलीले यसअघि प्रचण्डले तीन वर्ष रोकेर राखेको विधेयक अहिले जस लिनका लागि नै गठबन्धन सरकारले ल्याएको बताए ।
पहिले समितिमा नागरिकता विधेयक रोकेर अहिले समितिमा छलफल नै नगराई नयाँ विधेयक ल्याएर सरकारले जनतालाई समेत भ्रममा राखेको उनको भनाइ छ । त्यस्तै ओलीले राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनको उद्देश्य एमालेलाई कमजोर पार्ने र सिध्याउनेमा केन्द्रित रहेको तर्क गरे । गठबन्धनमा भएका पार्टीले पहिचानका नाममा राज्यलाई विखण्डित गर्ने प्रयास गरेको र गठबन्धन दलका क्रियाकलापकाकै कारण संघीयता समेत बदनाम भएको उनको आरोप छ । उनले एमालेको ध्यान मुलुकको विकास र सुशासनमा केन्द्रित रहेको बताए ।




