समाचार

भन्नलाई त समृद्ध नेपाल सुखी नेपाली, तर कसरी आउँछ थाहा छैन : भूसाल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता घनश्याम भूसालले देश राम्रो बनाउने हो भने पहिले राम्रो राजनीति चाहिने बताएका छन् ।

आज (बिहीबार) ललितपुरमा नेपालमा विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहिने बताए । उनले विज्ञानको विकास कर्मचारीतन्त्रलाई खेदेर मात्र, पुँजीपति वा वैज्ञानिकले घोत्लिएर मात्र सम्भव नहुने बताए ।

उनले भने, ‘राम्रो राष्ट्र परिकल्पना गर्न राजनीति चाहियो, राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहियो । खराब राजनीतिक पार्टी भएको देशको राम्रो भविष्य हुँदैन । राम्रो पार्टी भनेको वैज्ञानिक चेतना भएको पार्टी हुनुपर्‍यो । वीपीले २०१२ सालतिर प्रजातान्त्रिक समाजवाद भनेर एउटा वाक्य लेख्नुभएको थियो । अहिले पनि काँग्रेस त्यही भन्दैछ । प्रजातान्त्रिक समाजवाद कसरी आउँछ भनेर वैज्ञानिक तरिकाले भनिदियो वा परीक्षण गर्न सकिने तरिकाले भनिदियो भने त्यो कांग्रेसको वैज्ञानिक विचार भयो । तर त्यो कसैले भन्दैन ।’

पढेका, जाने-बुझेका ३० लाख हाराहारी मानिसहरु सदस्यता लिएर हाल सक्रिय राजनीतिमा रहेको बताउँदै भूसालले तर उनीहरुको चेतना बैज्ञानिक नभएको तर्क गरे । नेता भुसालले यस्तो अवस्थामा मुलक कता जान्छ भन्दै प्रश्न समेत गरेका छन् । देशमा यस्तो अस्वस्थ रहँदा माथिल्लो राजनीतिक नेतृत्वले गाडी र साडी व्यापारी पुँजीपतिसँग लगन गाँठो कसेर राष्ट्र दोहन गरेर बस्ने र ज्ञान, विज्ञान र चेतना मर्ने बताए ।

उनले एमालेले समृद्ध नेपाल सुखी नेपाली भन्ने गरेको, माओवादी केन्द्रले २१ औं शताव्दीको वैज्ञानिक जनवाद भन्ने गरेको तर त्यो कसरी आउँछ भन्न नसकेको बताए । उनले थपे, ‘‘हामी एमालेवालाले भन्ने गरेको छौँ समृद्ध नेपाल सुखी नेपाली तर कसरी आउँछ थाहा छैन् । प्रचण्ड कमरेडले अस्ती पार्टीको महाधिवेशनमा २१ औं शताब्दीको वैज्ञानिक के-के भन्नुभयो त्यो कसरी आउँछ थाहा छैन् । नेकपा एकीकृत समाजवादी यात्रा समृद्धिको लक्ष्य समाजवादको भन्छ, कसरी आउँछ परीक्षण गर्न सक्ने गरी भनिदेउन ।’

उनले भने, ‘दुईमा दुई जोड्दा चार हुन्छ । तीनमा २ घटाउँदा १ हुन्छ, ३ मा २ जोड्दा ५ हुन्छ भने जस्तै गरी बताइ दियो भने समृद्ध नेपाल सुखी नेपाली, २१ औं शताब्दीको वैज्ञानिक समाजवाद, यात्रा समाजवादको, प्रजातान्त्रिक समाजवादको प्रस्ट हुन्थ्यो । यिनको यी सिद्धान्त यिनीहरुले बनाएका यी कार्यक्रमहरु वैज्ञानिक छैन ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *