काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्दा त्रुटि भएको निष्कर्ष निकालेको छ । आज (सोमबार) अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले लोकप्रियभन्दा पनि निकटका व्यक्तिलाई उम्मेदवार बनाउँदा प्रतिकूल परिणाम भोग्नुपरेको उल्लेख गरेको छ ।
निर्वाचनमा विगतभन्दा बढी असमझदारी, असहयोग र अन्तर्घातका घटनाहरु देखापरेको निर्देशनमा उल्लेख छ । ‘आफू वा आफूले सिफारिस गरेको व्यक्तिले उम्मेदवारी नपाएपछि समग्र निर्वाचन अभियानलाई नै कमजोर गर्ने गरी असमझदारी बढाउन, उम्मेदवारलाई असयोग गर्ने र अन्तर्घात गर्नेसम्मका घटनाहरु देखा परे,’ निर्देशनमा भनिएको छ ।
स्थानीय तह निर्वाचनमा अपेक्षाअनुरुप परिणाम नआएकाले पार्टीपंक्ति अझै पनि निर्वचनको धङधङी रहेको भन्दै असार मसान्तभित्र चुनावको समीक्षा गरी प्रतिवेदन पठाउन निर्देशन दिइएको छ ।
निर्देशनमा भनिएको छ, ‘राजनीतिक नैतिकता र स्वास्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरुलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन । गठबन्धन रहिरहेसम्म हामी केही गर्न सक्दैनौं या नयाँ गठबन्धन बिना हामी अगाडि बढ्न सक्दैनौं भन्ने मनोविज्ञान बदल्न जरुरी छ ।’




