काठमाडौं । निर्वाचन आयोगले मंसिर २ वा ५ गते संघ र प्रदेश सभा निर्वाचन गर्न सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका अनुसार मंसिर २ वा ५ मा एकै चरणमा संघीय तथा प्रदेशको निर्वाचन गर्ने सिफारिस गर्ने तयारीमा निवाृचन आयोग रहेको छ ।
नेकपा माओवादी केन्द्रले बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने भएको छ । मंगलबार बसेको पूर्व स्थायी कमिटी र ईञ्चार्जको बैठकले उक्त निर्णय गरेको हो । पदाधिकारी र स्थायी कमिटी सदस्यको नामसूची तयार पार्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिइएको छ ।
रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये थप चारको मृत्यु भएको छ । उक्त दुर्घटनामा योसँगै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य २२ जना घाइते छन् ।
सरकारले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बेठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार सत्तारुढ गठबन्धनमा रहेका सबै राजनीतिक दलहरूबीच सहमति भएपछि नागरिकता विधेयक फिर्ता लिने निर्णय भएको हो ।
जसपाको तर्फबाट सोमबार मात्र कृषिमन्त्री बन्दै सपथ पनि खाइसकेका मृगेन्द्रकुमारसिंह यादवविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । उनको नियुक्ति संविधाविपरीत रहेको ठहर गर्दै अधिवक्ता अनुपम भट्टराईले मंगलबार सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो समेत टुंगो लगायपछिमात्र केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारीमा रहेका छन् । भोलि (बुधवार) पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरोमा बस्ने सबै नेताहरुको नाम प्रस्ताव तयारी गर्ने योजना रहेको गिरिराजमणि पोखरेलको भनाइ छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको टी–२० फ्रेञ्चाइज लिग लंका प्रिमियर लिग (एलपिएल) खेल्ने भएका छन् । मंगलबार भएको ड्राफ्टमार्फत सन्दीपलाई दम्बुला जाइन्ट्सले ४० हजार अमेरिकी डलरमा टिममा आबद्ध गरेको हो ।
सबैभन्दा ठूलो सहरमा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ । यस वर्ष तेस्रो पटक आएको बाढीपछि सिड्नीका बासिन्दालाई घर खाली गर्न भनिएको हो । पछिल्लो चार दिनमा सिड्नीका केही भागमा करिब ८ महिनाको वर्षा भएको जनाइएको छ ।




